काठमाडौं – भियतनामविरुद्ध नेपालले खेलको सात मिनेटमा नै दुई गोल व्यहोरेको छ। दशरथ रंगशालामा जारी रहेको ओलम्पिक छनोटको पहिलो चरणमा नेपाल दुई गोलले पछि परेको हो।
फिफा महिला विश्वकपको तयारीमा रहेको भियतनामले खेलको छैटौं र सातौँ मिनेटमै नेपालविरुद्ध गोल गरेको हो। भियतनामको लागि फाम हाइ एनले खेलको दुई मिनेटको अवधिबीचमा नै दुई गोल गरिन्।
सातौँ मिनेटमा उनले नै दुई डिफेन्डरलाई बिट गर्दै दोस्रो गोल गरिन्। फाम हाइको नजिकै पुगेकी गोलकिरप एन्जिला तुम्बाप्पो सुब्बाले राम्रो बचाउ गर्न नसक्दा नेपालले गोल खाएको हो। त्यसअघि उनले कर्नरबाट आएको बललाई दोहोरो प्रहार गर्दै गोल गरेकी थिइन्। पोस्टअघि रहेका डिफेन्डर र गोलकिपरले बल नियन्त्रण गर्न नसक्दा नेपालले पहिलो गोल खानुपरेको थियो। खेलको पहिलो हाफ सकिँदासम्म भियतनामले लगातार नेपाललाई दबाबमा राखिरह्यो।
नेपालले केही पटक मात्र बललाई विपक्षीको बक्समा पुर्याउन सकेको थियो। तर नेपालको एट्याकमा सावित्राले गोल गर्न भने सकिनन्। खेलको २८औँ मिनेटमा सावित्राले विपक्षीको पोस्ट नजिकै बल पुर्याए पनि उनको प्रहार बाहिरिएको थियो। भियतनामी डिफेन्डरले गोलका लागि अप्ठ्यारो कोणमा पुर्याएकी थिइन्।
३९औं मिनेटमा गोलकिपर अघि रहेको अवस्थामा चलाखीपूर्ण प्रहार गर्न नसक्दा नेपाल गोल फर्काउन चुकेको थियो। यसअघिको खेलमा उनले उस्तै प्रहार गरेर गोल गरेकी थिइन्। आज पनि उनले अघिल्लो खेलमा गोल गरेकै शैलीमा प्रहार गरेकी थिइन् तर भियतनामी गोलकिरपले खोङ थी हाङले सहजै बचाइन्।
नेपालले यसअघिको खेलमा पनि ५–१ को हार बेहोरेको थियो।


