काठमाडौँ- नेकपा (एमाले)को संकल्पयात्रा कोशी प्रदेशको खोटाङ जिल्ला पुगेको छ। खोटाङ पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले खोटाङ पंखुलप्से खानेपानी आयोजना पनि उद्घाटन गरेका छन्।
झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा खोटाङ पुग्नु भएका ओलीले बुधबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ मा रहेको सो खानेपानी योजनाको उद्घाटन गरेका हुन्। ११ करोड रुपैँया लागत अनुमान गरिएको सो आयोजनाको काम नै नसकिई उद्घाटन गरिएको हो।
एमालेयात्रालाई प्रभावित गर्ने गरी पहिचान पक्षधरले भने यातायातका साधन बन्द गराएका छन्। यसबाट लामो तथा छोटो दूरीको यातायात सेवा प्रभावित भएको छ।
कोशी प्रदेश नाम खारेज गरी पहिचानको आधारमा पुनः नामांकन गर्नु पर्ने माग राख्दै उनीहरुले बन्दको आह्वान गरेका हुन्। बन्दले सर्वसाधारणलाई सास्ती भएको छ। दिक्तेलबाट काठमाडौं हिडेका सवारी साधान हलेसीमा रोकिएका छन्। अन्य ठाउँमा पनि सवारी रोकिएको आन्दोलनकारीहरुले बताएका छन्।
खोटाङमा सडक अवरुद्ध गरेको अभियोगमा मंगलबार हलेसीबाट पूर्वसंस्कृति मन्त्री गोपाल किराती, जनता समाजवादी पार्टी खोटाङका जिल्ल सदस्य राजेश राई, वाइसिएल नगर इन्चार्ज विजय राई र जनता समाजवादी पार्टीका जिल्ला सदस्य गन्धमान राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल आदिवासी जनजाति महासंघ खोटाङका महासचिव उदीम चाम्लिङ पनि पक्राउ परेका छन्। उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालय दिक्तेलमा राखिएको छ।
भोजपुरमा पनि पुन: नामांकन संघर्ष समिति भोजपुरका संयोजक विदुर राई, जनता समाजवादी पार्टीका जिल्ला सदस्य मिना राई, युवा इन्चार्ज दिनेश राई, रामप्रसाद राई गाउापालिका इन्चार्ज पवन चाम्लिङ राई समातिएका छन्। शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरी पक्राउ गरिएको भन्दै विना सर्त तत्काल रिहाई गर्नु पर्ने आन्दोनकारीको माग छ।
