पोखरा– कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ।
आगामी पुस २६ गतेदेखि २८ गतेसम्म दुई प्रतियोगिता चल्ने आज पत्रकार सम्मेलनमार्फत अध्यक्ष मीन बहादुर गुरुङले जानकारी दिए। प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ घाचोकमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख, द्वितीय हुनेलाई २ लाख र सेमीफाइनलमा उपविजेता बन्ने २ टिमलाई ५०/५० हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई ७ हजार, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५ हजारका दरले पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ।
प्रतियोगिता सञ्चालन गर्नको लागि करिब १२ लाख ८३ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। भलिबल खेलको अतिरिक्त साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमसमेत हुनेछन्।
प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका कार्यालयको मुख्य सहयोग र वडा नम्बर ३ कार्यालयको समन्वय तथा माछापुच्छ्रे गाउँपालिका भलिवल संघको व्यवस्थापनमा सञ्चालन हुने भएको हो।


