काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा विवाद बढेको छ। पछिल्लो समय पार्टी दुई कित्तामा विभाजित भएको देखिएको छ।
अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पछिल्लो समय पार्टीमा आन्तरिक संघर्ष चुलिन थालेको हो। अध्यक्ष ठाकुरको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै केही दिनअघि मात्र केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका राजेन्द्र महतोले फेरि अर्को विज्ञप्ति जारी गर्दै सरकारबाट बाहिरिनुपर्ने धारणा राखेका हुन्।
सत्ता गठबन्धनले लोसपालाई पेलेका कारण सरकारलाई दिएको समर्थन तत्काल फिर्ता गरी संघर्षको कार्यक्रम घोषणा गर्नुपर्ने उनको भनाइ छ। उनको विज्ञप्तिपछि पार्टीको तल्लो निकायसम्म तरंग फैलिएको लोसपाका एक नेताले जानकारी दिए।
एउटै मुद्दामा शक्तिशाली दल र आफ्नो दलका विषयमा फरक व्यवहार गरिएको भन्दै महतोले सरकारसँग असन्तुष्टि व्यक्त गरेका हुन्। थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतले एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिँदा लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको फैसला सुनाएपछि महतो सरकारप्रति रुष्ट बनेका हुन्।
‘तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र थरुहटका सबै नेताहरुलाई विभिन्न तहका सरकारहरूलाई दिएको समर्थन फिर्ता गरी एकताबद्ध र गोलबद्ध भई प्रतिकारमा उत्रन आह्वान गर्दछु,’ महतोको विज्ञप्तिमा उल्लेख छ। नेता तथा कार्यकर्ताविरुद्ध भइरहेको षड्यन्त्रको पर्दाफास गरी निर्भयताका साथ आन्दोलनमा उत्रिन तथा खुट्टा नकमाउन र हिम्मत देखाउन लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनले आग्रह गरेका छन्।

अध्यक्ष ठाकुरले भने यसअघि नै महोत्तरी जिल्ला अदालतको फैसलाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। न्यायालयप्रति सम्मान रहेपनि महोत्तरी जिल्ला अदालतको फैसलाप्रति पार्टी गम्भीर असहमति रहेको उनको भनाइ छ।
‘निर्दोष व्यक्तिहरुलाई समेत राजनितिक पूर्वाग्रहको आधारमा फसाइएकोमा सम्मानित अदालतबाट जन्मकैद सम्मको फैसला आउनुले हामी स्तब्ध तथा मर्माहत भएका छौँ,’ ठाकुरको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान कानुन तथा न्यायिक प्रक्रियालाई आधार मानेर न्यायका लागि लोसपा नेपाल अगाडि बढ्ने छ।’ अध्यक्ष ठाकुर भने तत्कालै सरकारबाट बाहिरिएर आन्दोल गरिहाल्ने पक्षमा नभएको ठाकुर निकट एक नेताले बताए।

वरिष्ठ नेता महतोले निकालेको विज्ञप्ति पार्टीको आधिकारिक नभएको र व्यक्तिगत धारणा भएको पार्टीका महासचिव केशव झाले बताए।
‘उहाँ (महतो) पार्टीभित्र अहिले विद्रोही हुनुहुन्छ। पार्टीभन्दा फरक लाइनको विज्ञप्ति उहाँले निकाल्नु भएको हो। यो विषय अध्यक्ष ठाकुरको रुचिको विषय होइन,’ झाले भने, ‘तत्कालै सरकारबाट बाहिरिएर आन्दोलनमा जाने पक्षमा अध्यक्ष (ठाकुर)जी हुनुहुन्न।’
राजेन्द्रले सरकारबाट बाहिरिनुपर्ने अभिव्यक्ति पार्टीको आन्तरिक राजनीतिमा जोडिएको छ। लोसपाबाट अहिले शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री छन्। उनी अध्यक्ष ठाकुर निकट मानिन्छन्। सरकारमा महतो निकटका व्यक्ति सहभागी नभएका कारण पार्टीको विवाद सरकारसँग जोडेर उनी दबाब सिर्जना गर्ने पक्षमा छन्।
यसअघि मंसिर २४ गते भएको पार्टीको केन्द्रीय कार्य समिति बैठक महतोले बहिष्कार गरेका थिए। पार्टीका पदाधिकारी र केन्द्रीय समिति विस्तारप्रति उनको असन्तुष्टि थियो। पार्टीले आफ्नो मत सुनुवाइ नगरेको भन्दै बैठकमा नजाने महतोले बताएका थिए।
‘सुधार गर्छु भन्ने, तर नगर्ने। ९० जना खाली सिटमा पनि उहाँले सही मानिसहरु लैजानुभएन,’ अध्यक्ष ठाकुरप्रति महतोको प्रश्न थियो, ‘४११ सदस्यीय केन्द्रीय समितिमा सबै उहाँकै मात्र हुने? मधेसवादको केही सम्मान छैन?’
