विराटनगर- गिरिजाप्रसाद कोइराला स्मृति चौथो राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको सेमिफाइनलमा विभागीय टोली आर्मी, पुलिस, सुदूरपश्चिम र मधेस प्रदेश पुगेका छन्।
समूह ‘ए’ तर्फ त्रिभुवन आर्मी क्लब पहिलो र दोस्रो स्थानमा नेपाल पुलिस छन् । समूह ‘बी’तर्फ पहिलो सुदूरपश्चिम प्रदेश र दोस्रो मधेस प्रदेश रहेका छन्। प्रतियोगिताको आइतबार हुने सेमिफाइनलको पहिलो खेल आर्मी र मधेस प्रदेश तथा दोस्रो खेल सुदूरपश्चिम र पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ।
विराटनगरको सहिद रंगशालामा भइरहेको प्रतियोगिताअन्तर्गत शनिबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई ५–३ गोलमा पराजित गरेको छ। सुदूरपश्चिमका दीपकराज जोशीले २ गोल, धिरेन्द्रबहादुर , शेरबहादुर चन्द र महेश नेपालीले समान १–१ गोल गरेका थिए। मधेस प्रदेशका विशला क्षेत्री, रुपक दाहाल र रुपेश राईले समान १–१ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका महेश नेपाली भए।
त्यस्तै, अर्को खेलमा गण्डकी र कर्णाली प्रदेशले २–२ गोलको बराबरी खेलेर अंक बाँड्दै लिग चरणबाट बहिरिएका छन्। गण्डकीका संगम जेटी र असिम बाहेकले गोल गरे। कर्णालीका लागि जीवन राउतले २ गोल गरेका थिए। खेलको म्यान अफ द म्याच कर्णालीका जीवन राउत भए।
शुक्रबार राति भएको खेलमा साविक विजेता त्रिभुवन आर्मीले पूर्व विजेता गण्डकी प्रदेशलाई ८–१ को फराकिलो गोलअन्तरमा पराजित गरेको थियो। आर्मीका रोमन रानाले ३ गोल, काशीराजले २ गोल, देवसिंह धामी र प्रदीप राजवंशीले समान १–१ गोल गरे। गण्डकीका असिम बाहेकले एक गोल फर्काए। खेलको म्यान अफ द म्याच आर्मीका नीतिश न्यौपाने भए।
नेपालमा पहिलो पटक रात्रीकालीन हक्की खेल शुक्रबार राति भएको थियो। प्रतियोगिताका संयोजक तथा पूर्व अन्तराष्ट्रिय खेलाडी रञ्जन थापाका भन्छन्, ‘नेपाली टोलीले विदेशमा बाहेक स्वदेशमा पहिलो रात्रीकालीन हक्की खेलेका हुन्। यस खेलबाट यहाँ पनि रात्रीकालीन खेल सम्भव भएको पुष्टि भएको छ। हक्कीलाई संरक्षण गर्ने क्रममा प्रतियोगिता आयोजना गरेरै पहिलो पटक प्रयास गरेकोमा सफल भएका छौँ।’


