पोखरा- नेपाल भूतपूर्व खेलाडी मञ्चले आजीवन सदस्यहरुसँग अन्तर्क्रिया गरेको छ। सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र मृत्यु भएका सदस्यहरुको सम्झना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
शुक्रबार पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा सम्पन्न भएको अन्तरक्रियामा सहभागिहरुले पोखरा म्याराथनलाई थप स्तरीय बनाउनका लागि जोड दिए। सहभागिहरुले मञ्चका लागि सद्यैँ सहयोग गर्न तयार रहेको र आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरिरहने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा स्वागत गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आफ्नो प्रत्यक्ष खेल जिवनपश्चात रिटायर्डको समयमा अनुभव मर्न नदिनका लागि मञ्चको स्थापना भएको बताए।
मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको उदेश्य, लक्ष्य, सफल पोखरा म्याराथन र दिवंगत भएका मञ्चका सदस्यहरुको बारेमा प्रस्तुति दिएका थिए। पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो समय एम्स र वल्र्ड म्याराथनसँग जोडिएपछि थप चर्चा पाएको बताए।
उनका अनुसार मञ्चमा रहेका ३२ जना सदस्यहरुको मृत्यु भइसकेको छ। मृत्यु भएकाहरुले गरेको योगदान अविस्मरणीय रहेको उनको भनाई थियो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अन्तर्राष्ट्रिय म्याराथनका लागि आफुहरुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पोखरा म्याराथनलाई खेलकुदको ठूलो मेलाको रुपमा मनाउनुपर्नेमा उनले जोड दिए।
सहारा क्लब पोखराका पुर्वअध्यक्ष विक्रम थकालीले आर्थिक रुपमा सबल हुँदै थप खर्च गरेर म्याराथनलाई स्तरीय बनाउन सुझाव दिए।
मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले मञ्चलाई थप बलियो बनाउने काम आजिवन सदस्य र खेलाडीहरुको रहेको सुनाउँदै म्याराथनलाई सफल बनाउन सबै ठाउँबाट सहयोग गरिदिन आग्रह गरे।
म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङले अन्तरक्रिया कार्यक्रमले २२ वर्षअघिको मञ्चको झल्को दिएको सुनाए। उनले मञ्चको स्थापनाकालदेखिका सदस्यहरुलाई समेत देख्न पाउँदा खुसी लागेको र अब मञ्चमा अग्रज खेलाडीमात्र नभई युवा खेलाडीलाई समेत समेट्न आवश्यक रहेको सुनाए।
सोही अवसरमा मञ्चमा नयाँ आजीवन सदस्यता लिने व्यक्तिहरुलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको छ।
मञ्चले आगामी फागुन ५ गते म्याराथन आयोजना गर्दैछ। म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिला हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर, छात्र/छात्रा ५ किलोमिटर, ह्विलचियर, दृष्टिविहिन र रन फर फनको आयोजना गर्दै आइरहेको छ।


