काठमाडौँ- दुई ट्याक्टरले एक अर्कालाई उछिन्न खोज्दा भएको दुर्घटनामा ४ जनाको ज्यान गएको छ। बाजुराको बडिमालिका नगरपालिका –२ खडीगाडमा मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको लु ४ त ७३०५ र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टरले एकअर्कालाई उछिन्न खोज्दा दुबै ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लु ४ त ७३०५ नम्बरको ट्याक्टर सडकको माथि पट्टी दुर्घटना भएको र सुपप्र ०१००२ त ४१०५ ट्याक्टर खडीगाड खोलामा खसेको थियो।
मृत्यु हुनेमा बडिमालिका नगरपालिका २ मा बस्दै आएका ३८ वर्षीय देवराज जोशी, सोही वडामा बस्ने ३३ वर्षीया करिष्मा रोकाया, सोही नगरपालिका १ बस्ने ३५ वर्षीय चन्द्र दानी र गौमुल गाउँपालिका ६ बस्ने ३० वर्षीय ट्याक्टर चालक हिक्मत रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।
लु ४ त ७३०५ ट्याक्टर दुर्घटना भए पनि त्यसमा सवार मानवीय क्षति नभएको र सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालकसहित चार जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।
सुपप्र ०१००२ त ४१०५ नम्बरको ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ


