काठमाडौँ– सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ। तीन दिन लगाएर संसदीय सुनुवाइ समितिले सुनवाइ पूरा गरेको हो।
सोमबार सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ भएको हो। आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ भएको थियो भने शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ भएको थियो।
न्यायपरिषद्ले सर्वोच्चमा सिफारिस गरेकामध्ये ढुङ्गाना प्रधानन्यायाधीशको रोलक्रममा रहने गरी सर्वोच्च प्रवेश गर्न लागेका हुन्। सुवेदी, अजिज, पौडेल र ढुङ्गाना चारै जना उच्च अदालतका न्यायाधीश हुन् भने पोखरेल र ढकाल कानुन व्यवसायबाट न्याय मूर्तिको कुर्सीमा आसीन हुन लागेका हुन्।
पोखरेलले आफू सर्वोच्चको न्यायाधीशमा अनुमोदन भए अन्याय हुन नदिने प्रतिबद्धता गरेका छन्। ‘मेरो हातबाट अन्याय हुँदैन,’ पोखरेलले भने, ‘न्यायाधीशका रूपमा हाम्रो भूमिका भनेको ‘न्यायको नजिक पुग्नु हो।’
सोमबार नै सुनुवाइ समितिमा पुगेका अर्का प्रस्तावित न्यायाधीश ढकालले पनि आफू मानसिक रूपमा नै न्यायाधीश बन्न तयार भएर सर्वोच्च जान लागेको बताएका थिए। ढकालले भने, ‘इजलासमा गएपछि हामीले हेर्ने भनेको संविधान र कानुन हो।’
प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ शुक्रबार भएको थियो। सारंगाविरूद्ध ६ उजुरी थिए। सुनुवाईका क्रममा सुवेदीले न्यायको प्रत्याभूति दिन पहल गर्ने प्रतिबद्धता गरेका थिए। हजारौंको संख्यामा मुद्दाको फछर्यौट गर्दा केही मान्छे असन्तुष्ट हुनु स्वाभाविक हुने बताएका उनले त्यसैलाई अदालत प्रभावित भन्नु उपयुक्त नहुने बताएका थिए। न्यायपालिकाको रणनीतिक योजनाको निर्माण तथा सफल कार्यान्वयनमा आफ्नो ज्ञान, अनुभवका आधारमा यथाशक्य योगदान पुर्याउने उनको धारणा थियो।
मुसलमानले न्यायपालिकाले प्राप्त गरेको स्रोत साधनभित्र रही आफ्नो सेवा प्रवाहमा कुनै कमी कमजोरी हुन नदिने प्रतिबद्धता जनाए। न्यायपालिका स्वतन्त्र, निष्पक्ष, पारदर्शी बनाउनु न्यायपालिका र यसभित्र कार्यरत न्यायाधीशको कर्तव्य भएको उनको भनाइ थियो।
न्यायपरिषदले मङ्सिर ५ गते उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुई जनालाई सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो।
प्रस्तावित न्यायाधीश टेकप्रसाद ढुंगानाले राजश्व न्यायधीकरणको अध्यक्ष हुँदा आफूले कुनैपनि धरौटी नपुगेको मुद्दामा फैसला नगरेको जिकिर गरेका थिए। उनीविरुद्ध पुष्पप्रसाद गुरागाईंले ‘न्याय मार्ने व्यक्ति’को आरोप लगाएका थिए। उक्त आरोप ढुंगानाले झुटो भएको बताएका थिए।
शुक्रबार संसदीय सुनुवाइ समितिमा आफ्नो न्यायाधीश पदका लागि हुने सुनुवाइका लागि पुगे मसुलमानलाई नेपाली कांग्रेसका सांसद रमेश लेखकले मुद्दाको चाप घटाउने विषयमा जिज्ञासा राखेका थिए।
‘न्यायाधीशले आफ्नो काम गर्नुपर्यो। न्यायाधीशले गफ गर्ने होइन। आफ्नो इजलासमा परेका मुद्दामा लाग्ने,’ उनले भने, ‘चार बजेसम्म ‘कजलिस्ट’मा लागेपछि मुद्दाको चाप घट्छ। अल्छी गर्नुभएन। पन्छाउनु भएन। मेहनत गर्नुपर्यो। त्यसरी नै मुद्दा घटाउन सकिन्छ।’
प्रस्तावित ६ जनै न्यायाधीशको संसदीय सुनुवाइ सकिएपनि निर्णय भएको छैन। उनीहरूलाई न्यायाधीशमा अनुमोदन गर्ने वा नगर्ने विषयमा पुस ४ गते समितिको बैठक बोलाइएको छ।


