काठमाडौँ– नेपालका विमानस्थलमा आधारभूत आवश्यकताका वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिन नपाउने भएका छन्।
विमानस्थलमा बोतलको पानी, बिस्कुट, चाउचाउ जस्ता आधारभूत आवश्यकताका वस्तुमा बढी मूल्य लिने गरेपछि जन गुनासो बढेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणले जनगुनासो बढेपछि गत कात्तिक २ गत उच्चस्तरीय समिति गठन गरेको थियो।
उच्चस्तरीय समितिले अध्ययन प्रतिवेदन प्राधिकरणलाई बुझाएको छ। प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाको संयोजकत्वमा गठन भएको समितिले मंगलबार प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो।
समितिले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘विमानस्थलमा आम उपभोक्ताहरूले उपभोग गर्ने आधारभूत आवश्यकताका वस्तु जस्तै बोतल वाटर, बिस्कुट, चाउचाउ आदि प्याकेजिङ भएका खाद्य तथा पेय वस्तुलाई व्यक्ति, फर्म, कम्पनीले अधिकतम खुद्रा बिक्री मूल्यमा नै बिक्री गर्न सम्बन्धित कार्यालयले निर्देशन दिनुपर्ने।’
यस्तै, समितिले विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा आवश्यक संशोधन गर्न समेत सिफारिस गरेको छ। विमानस्थल भित्र सञ्चालित रेष्टुरेन्ट, बिजनेस लाउन्ज र एक्ज्युक्युटिभ लाउन्जहरुले बिक्री गर्ने माल वस्तु तथा सेवाको मूल्य सोही स्तरका होटल तथा रेष्टुरेन्टले लिने बजार मूल्य भन्दा बढी नलिने गरी मूल्य राख्न सिफारिस गरिएको छ।
