काठमाडौँ- बारामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बाराको अमलेखगञ्जमा बस र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
मृत्यु हुनेमा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय हरि शम्शेर सुयाल र करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको छ। ती पुरुषको भने सनाखत हुन सकेको छैन।
दुर्घटनामा दुबै सवारी साधनका चालक र अर्का एक यात्रुले ज्यान गुमाएका प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्।
गएराति झापाबाट काठमाडौँ आउँदै गरेको बा ३००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्जनजिकै तीन नम्बर पुलमा ठोक्किँदा दुर्घटना भएको हो।
गएराति करिब २ बजे भएको दुर्घटनामा घाइते हुने २७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।


