काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मधेश प्रदेशमा नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बताएका छन्। जनकपुरमा भएको मधेस कांग्रेसको पहिलो सम्मेलनमा बिहीबार बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।
‘मधेसले माया गरेको कांग्रेसले यो प्रदेशमा आफ्नो नेतृत्वमा सरकार चलाउन पाउनुपर्छ,’ उनले भने, ‘हाम्रो नेतृत्वको सरकारले काम गरेर, एउटा भ्रष्टाचार नगरी, अनियमितता नगरी सरकार चलाएर जनतालाई देखाउनुपर्छ।’ मधेसका अहिलेका मुख्यमन्त्री सरोजकुमार यादवले बाराको एक घटनामा ‘कांग्रेसलाई हेप्ने दुत्साहस’ गरेको आरोप लगाए।
मधेशमा शिक्षा, स्वास्थ्यलगायतमा पछि परेको बताएका उनले वैदेशिक रोजगारीमा जानेहरू मधेशकै धेरै भए पनि गरिबी नघटेको बताएका थिए।
‘सबैभन्दा बढी गरिबी, शिक्षा र स्वास्थ्यको समस्या मधेसमा छ। नेपालमा गरिबी जम्मा एक कारणले गर्दा घट्यो भनिन्छ। मुख्य कारण भनेको वैदेशिक रोजगारी हो। मधेसका आठ जिल्लाका मानिस सबैभन्दा बढी विदेश गएका छन् तर गरिबी यहाँ किन घट्दैन? कमाएर पठाएका छन्, तर यहाँ गरिबी किन छ समीक्षा होस्।’
उनले २०८४ सालमा हुने चुनावका बारेमा अहिलेदेखि नै कांग्रेसले चिन्ता गर्न नहुने बताए। अहिलेदेखि नै काम गरे चुनावको चिन्ता गर्न नपर्ने उनको भनाइ छ।
