काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रिपरिषद् हेरफेर गर्ने संकेत दिएका छन्। बिहीबार दाहालले पार्टी पदाधिकारी बैठकमा यस्तो संकेत गरेका हुन्।
मन्त्रालयको काम अपेक्षा अनुसार नभएको भन्दै प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर हुनसक्ने बताएका थिए। ‘सरकारका कामलाई प्रभावकारी बनाउन यही गतिले हुँदैन, अब नयाँ ढंगले काम गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने, ‘त्यस्तै परे नयाँ कदम चाल्नुपर्ने हुन सक्छ।’
सकेसम्म यही मन्त्रिपरिषद्लाई सक्रिय बनाउने र नहुने भएपछि परिवर्तन पनि गर्नु पर्ने धारणा प्रधानमन्त्रीको रहेको माओवादी नेताहरू बताउँछन्। प्रधानमन्त्री दाहालले बिहीबारै विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्रालयले आफ्नो लक्ष्य पूरा नगरे नयाँ ढंगले सोच्ने बताएका थिए।
‘अब नयाँ ढंगले जाने, विकास निर्माण र जनताको सेवा अगाडि बढाउने योजना बनाउने हो,’ उनले भनेका थिए, ‘अब टार्गेट दिइन्छ । त्योअनुसार भएन भने सोच्नुपर्छ ।’
प्रधानमन्त्री दाहाल अर्थ, भूमिसुधार, कृषि, पर्यटन र ऊर्जा मन्त्री परिवर्तन गर्ने सोचमा रहेको स्रोतको भनाइ छ। मन्त्रिपरिषद्को अघिल्लो बैठकमा प्रधानमन्त्रीले मन्त्रालयको कामले लक्ष्य नभेटेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका थिए।
