काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोशी प्रदेशमा छन्। बिहीबार विराटनगर पुगेका उनको आजको दिन कोशी प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।
नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी : विशेष रूपान्तरण अभियान’ अन्तरगत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा जनसभाको आयोजना गरेको छ। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सभालाई सम्बोधन गर्न मिक्लाजुङ पुग्दा कोशी प्रदेशका सांसद र मन्त्री साथमा ल्याए प्रधानमन्त्रीको विरोध गर्ने पहिचानवादीले चेतावनी दिएका छन्। कोशी नामाकरण गरेपछि असन्तुष्ट रहेको पक्षले विभिन्न ठाउँमा आन्दोलन गर्दै आएको छ। प्रदेश मन्त्री र सांसदलाई निषेध गरेको छ।
प्रधानमन्त्री प्रचण्डले आजै बिहान १० बजे सुनसरीको इनरुवामा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गर्नेछन्। उनी आजै साँझ काठमाडौं फर्किने छन्।


