काठमाडौँ- म्याग्दीको फरक २ स्थानमा २ जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका –७ हिलापोखरीकी ७६ वर्षीय मनकुमारी पुन र अन्नपूर्ण गाउँपालिका –४ नारच्याङ्का सुजन घर्तीको शव बिहीबार फेला परेको हो।
धवलागिरि गाउँपालिका –७ हिलापोखरीकी पुनको शव सोही वडाको खोर्वाङ स्थित म्याग्दी खोलाको खोँचमा भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार पुस ३ गतेदेखि हराइरहेको भन्ने सूचना प्रहरीमा आएको र खोजतलास गर्नेक्रममा खोलाको खोँचमा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ।
त्यस्तै अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ घर भई अन्नपूर्ण–२ भुरुङ तातोपानी बस्ने ३१ वर्षीय सुजन घर्ती पुस २ गते बेलुका ग २२ प ११३० नम्बरको मोटरसाइकल लिएर भुरुङ तातोपानीबाट पोखराका लागि प्रस्थान गरेपछि बेपत्ता भएका थिए।
भुरुङ तातोपानी नजिकै नैनीबगर नजिकै सडक भन्दा करिब एकसय मिटर तल कालीगण्डकी नदिको खोँचबाट शव निकालिएको प्रहरीले जनाएको छ। कालिगण्डकी नदीको खोँचबाट सशस्त्र प्रहरीको गोताखोर टोलीले घर्तीको शव निकालेको सूचना अधिकारी झाले जानकारी दिए।


