यूरोपियन सुपर लिग सञ्चालन गर्न खोज्नेहरु फेरि एकपटक यसअघि नै टुटिसकेको योजनालाई लिएर अघि सरेका छन्। जब सन् २०२० को अक्टोबरमा सुपर लिगको सम्भावनाबारे बहस छेडियो, तब लिभरपुलका पूर्व डिफेन्डर जेम कार्राघेरले सांक्षिप्त टिप्पणी गर्दै भनेका थिए- बकवास!
तर पनि यो सुपर लिगको विचार कहिलै समाप्त हुँदैन। चाहे जतिसुकै विरोध किन नहोस्, यो अविनाशी झैं छ, किन यो विचार मर्दैन? किनकि यूरोपका ठूला र चर्चित फुटबल क्लब लोभी र शक्तिका भोका मान्छेहरूले चलाउँछन्। जसले गम्भीर वित्तीय संकटको सामना गरिरहेका छन्। उनीहरु इंग्लिस प्रिमियर लिगको ठूलो व्यावसायिक सफलतासँग ईर्ष्या गर्छन्।
सिधा शब्दमा भन्ने हो भने रियल मड्रिड र बार्सिलोना ‘क्यास फ्लो’को समस्याबाट गुज्रिरहेका छन्। यो तथ्य कोरोना भाइरसको महामारीका बेला बाहिर आएको थियो। यो समस्या समाधान गर्ने ध्येयमा दुवै क्लब देखिन्छन्। र यो समस्या सुपरलिगका माध्यमबाट मिल्ने विश्वास ती दुई क्लबको थियो/छ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा र मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज।
सोही कारण रियल र बार्सिलोनाले सुपर लिगको आइडियालाई छोडेका छैनन्। दुवै क्लबले यो लिग स्थापित गर्न यूरोपियन न्यायालयलाई गुहारेका थिए। अदालतले उनीहरुको पक्षमा फैसला गरेको छ। फिफा र यूईएफएले सन् २०२१ मा यो लिगमा भाग लिने क्लबलाई प्रतिबन्ध लगाउने निर्णय लिएका थिए। यो निर्णयका विरुद्धमा रियल र बार्सिलोना अदालत पुगेका थिए।
रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले अदालतको फैसाला लगत्तै खुसी व्यक्त गरेका थिए। उनले अदालतको फैसलाले यूरोपियन फुटबल एकाधिकार तोडिएको बताएका थिए।
‘यूरोपियन क्लब फुटबलमा एकाधिकार छैन र हुँदैन। क्लबले आफ्नो भाग्यको फैसला आफैं गर्न सक्छन्। यो फुटबल र प्रशंसकको जित हो,’ उनले भनेका थिए, ‘दुई वर्ष भन्दा लामो समयसम्मको दबाबलाई झेल्दै आज अदालतले स्वतन्त्रता दिएको छ। रियल मड्रिडले फुटबल विकासका लागि प्रयास जारी राख्नेछ।’

युईएफए अध्यक्ष एलेक्जेन्डर सेफरिन।
सुपरलिगको समर्थकहरुको संस्था ए२२का सिईओ रिचार्डले फुटबल स्वतन्त्र बनेको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, ‘हामीले प्रतिस्पर्धा गर्ने अधिकार जितेका छौं। यूईएफएको एकाअधिकार समाप्त भएको छ। फुटबल स्वतन्त्र भएको छ।’
सबैभन्दा रोचक के छ भने पेरेजले रियल मड्रिड फुटबलका लागि काम गर्ने भनेर गरेको दाबी। जुन हास्यास्पद दावी हो। अदालतको यो फैसला रियलको जित होइन। सुपर लिगको समर्थन गर्ने रियल, बार्सा, ए२२ र प्रिमियर लिगका ६ टिमले आफ्नै हित हेर्ने गर्छन्। ती क्लबले जति सकिन्छ, त्यति ‘रेभिन्यू जेनेरेट’ गर्नेमा ध्यान केन्द्रित गर्छन्।
यो सुपर लिग सञ्चालन गर्न खोज्नेको उति ठूलो जित पनि होइन, जति पेरज र मिडियाको एउटा तप्काले व्याख्या गरिरहेका छन्। किनकि यूईएफएले पहिले नै ती नियम संशोधन गरिसकेको छ। जसलाई अदालतले गैरकानूनी ठहर गरेको थियो। यूईएफए वा फिफाको समर्थन विना कुनैपनि प्रतिस्पर्धात्मक प्रतियोगिता स्थापित गर्न लगभग असम्भव छ।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनो।
त्यसो त स्पेन, इंग्ल्यान्ड, इटालीसँगै फ्रान्सका अधिकांश क्लबहरुले सुपर लिगमा सहभागिता नजनाउने घोषणा गरिसकेका छन्। यो रियल र बार्सिलोनाका लागि ठूलो झट्का हो। स्पेनकै क्लब एट्लेटिको मड्रिडले भनेको छ, ‘जर्मनी, फ्रान्स, इंग्ल्यान्ड, स्पेन (रियल र बार्सिलोनालाई छाडेर)का क्लब सुपर लिगको विरुद्धमा छन्। हामी घरेलु लिगलाई अझ बलियो बनाउने पक्षमा वकालत गर्छौं।’
यूईएफए अहिले पनि मजबुद अवसथामा छ। सोही कारण अध्यक्ष अलेक्जान्डर सेफरिनले बिहिबार व्यंग्य गर्दै भनेका थिए, ‘मलाई लाग्छ उनीहरुले सुपर लिग चाँडै सुरुवात गर्नेछन्।’ सुपर लिगको ढाँचाको घोषणा हुनुअघि नै सेफरिनले यस्तो व्यंग्य कसेका थिए।
त्यसो त सुपर लिगको संशोधिन प्रस्तावलाई हेर्ने हो भने अहिले चलिरहेको च्याम्पियन्स लिग भन्दा खासै फरक देखिँदैन। अहिलेको स्थितीमा हेर्ने हो भने च्याम्पियन्स लिगको नाम मात्रै सुपर लिग नभएको हो। लिग त सुपर लिग नै बनिरहेको छ।
पछिल्ला केही वर्ष देखि यूरोपियन फुटबलमा धनी र गरिब क्लबबीचको खाडल गहिरिँदै गएको छ। जसका कारण केही क्लब मात्रै प्रमुख उपाधिका दाबेदार बन्न सक्षम बनेका छन्। यो यूरोपका सबै लिगको साझा समस्या हो। यसका बारेमा पर्याप्त बहस र काम भइरहेको छैन। खैर, यूरोपका अधिकांश क्लबले सुपर लिगमा सहभागी नहुने घोषणा गरेका छन्। तर पनि सुपर लिगको विचार भने कहिलै समाप्त हुने छैन।
गोलडटकमबाट


