काठमाडौँ- सहिद गंगालाल हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा आश्वासन पाएर अन्यायमा परेपछि डा.रामेश कोइरालाले राजीनामा दिने बताएका छन्। उनले सामाजिक सञ्जालमा राजीनामा दिने बताएका हुन्।
अघिल्लो पटक नै गंगालालमा जिम्मेवारी पाउने आशमा रहेका उनले यस पटक पनि स्वास्थ्यमन्त्रीको हातमा फरक नाम देखिएपछि उनी विरक्तिएका हुन्।
पुस ७ गते कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको छ। नयाँ कार्यकारी निर्देशकमा आफूलाई अन्याय भएको थाहा पाएपछि डा. कोइरालाले सामाजिक सञ्जाल मार्फत राजीनामा दिने बताएका हुन्। मन्त्रालय स्रोतका अनुसार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले शुक्रबार नै नयाँ निर्देशकको फाइल उठाउन लगाएका छन्। फाइलमा नाम नभए पनि नयाँ निर्देशकमा मुटु रोग विशेषज्ञ डा रवि मल्ल र डा अरुण मास्केको नाम चर्चामा आइरहेको छ।
दुई जना मुटुरोग विशेषज्ञको नामको चर्चा भइरहेका बेला अर्का मुटुरोग विशेषज्ञ डा. कोइरालाले राजीनामा दिने सोच बनाएको भन्दै भाउजूलाई धन्यवाद दिएका छन्। उनको ट्विटरमा उल्लेख गरिएको ‘भाउजु’ शब्दलाई धेरैले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नि आरजु राणा भएको अनुमान लगाएका छन्।
‘देशमा स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो भन्ने म मन नपरीकन पनि कसोकसो सरकारीबाट राजीनामातिर पुग्दै छु। मेरो भान्साबारे चिन्तै गरेर दण्डवतको हैसियतमा त छुइँन नै। सरी गंगालाल र धन्यवाद भाउजू ! जय नेपाल !’ उनले ट्विटरमा लेखेका छन्।
डा. कोइरालाको ट्वीटपश्चात सामाजिक सञ्जालमा विभिन्न थरी प्रतिक्रियाहरू आइरहेका छन्।


