काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिंहदबार घेर्ने चेतावनी दिएका छन्। उनले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न बनाउने कानून नल्याए सिंहदरबार घेर्ने चेतावनी दिएका हुन्।
शनिबार नेपाली कांग्रेस वागमती प्रदेशको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने माग उठिरहेको बताए। उनले संघीय सरकराले प्रदेश सरकारले राखेका मागहरु पूरा गर्न गर्नुपर्नेमा जोड दिए।
कांग्रेस प्रदेशलाई अधिकार सम्पन्न बनाउने गरी कानुन नआए महासमितिको बैठकबाट निर्णय गरेर कांग्रेस सिंहदरबार घेर्न बाध्य हुने उनको भनाइ थियो। ‘सबै प्रदेश सम्मेलनमा जाँदा एउटै गुनासो के छ भने, प्रदेश बन्यो तर अधिकार दिइएन। प्रधानमन्त्रीज्यू, मागेको के हो? युरिनियम निकालेर हामीलाई देउ भनेर मागेको हो?,’ उनले भने, ‘हिरा मोतीको खानी मागेको हो? होइन, अन्तरिक्ष यान बनाएर हाम्रो हातमा देउ भनेको हो? होइन। अक्षरहरुले लेखिएको एउटा पुस्तक मागेको हो। कानुन मागेको हो। अधिकार मागेको हो। आज प्रधानमन्त्रीजीलाई म यहीँबाट नेपाली कांग्रेस पार्टीको महामन्त्रीको हैसियतले भन्छु, कांग्रेसको महासमितिको बैठक हुँदासम्म त्यो अधिकार सम्पन्न बनाउने गरी कानुन आएन भने महासमितिको बैठकबाट निर्णय गरेर हामी सिंहदरबार घेर्नका लागि प्रदेशका साथीहरुसहित उपस्थित हुनेछौँ।’
महामन्त्री शर्माले रुस-युक्रेनको सेनामा अवैधानिक रुपले नेपालीहरुलाई पुर्याउनेहरुलाई कारबाही गर्नुपर्ने बनाए। युद्धमा मृत्यु भएका नेपालीको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरुसँग कुरा गरेर यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो।


