काठमाडौँ- परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले इजरायलबाट हमास समूहको अपहरणमा परेका विपीन जोशीको सकुशल रिहाइका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्। न्यूज लाइन्स मिडियाको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले यस्तो बताएका हुन्।
‘विपीन जोशीको सकुशल रिहाइका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको छ,’ उनले भने।
कार्यक्रममा सम्बोधनका क्रममा उनले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताएका उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए।
‘प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता संस्थागत भएको छ, प्रजातान्त्रिक मुलुकमा पत्रकारितालाई चौथो अङ्गका रुपमा राज्यले मान्यता दिएको छ,’ परराष्ट्रमन्त्रीले भने।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का नेता एवं पूर्व स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्य सञ्चालनमा धेरै समस्या भएको भन्दै ती समस्या समाधान गर्न सरकार लाग्नुपर्नेमा जोड दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले समुन्नत मुलुक निर्माणको ‘एजेण्डा’ नेपाली सञ्चार माध्यमले उठाउनुपर्ने बताए।
नेपाली जनसम्पर्क समिति, भारतका अध्यक्ष बालकृष्ण पाण्डेले विदेशिएका नेपालीको पीडालाई नेपाली सञ्चार माध्यामले गहन प्रस्तुत गरेकामा आभार व्यक्त गरे। रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले दैनिक हजारौँ युवा मुलुकबाट बाहिरिएका भन्दै उनीहरूलाई स्वदेशमै रोजगारीको वातावरण बनाउन सरकार लाग्नुपर्ने बताए।


