वीरगञ्ज (पर्सा)- यहाँ सञ्चालित दोश्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आज २ खेल हुँदैछन्। नारायणी रङ्गशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आइतबार २ विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल आर्मी क्लब र पर्सा–११ बीच अर्को प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अङ्कतालिकामा नेपाल आर्मी ४ अङ्कसहित शीर्षस्थानमा छ भने समान ४ अङ्कका साथ पर्सा–११ दोस्रो स्थानमा छ।
अङ्कतालिकामा समान दुई–दुई अङ्कसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन्। भारतको युपी–११ र भारतकै वान्डर्स क्लब अङ्कविहीन छन्।
नारायणी रङ्गशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलले सशक्तरूपमा प्रतियोगिता आयोजना गरेका हुन्। प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी–११ गरी छ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले जानकारी दिए। प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ।


