काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।
भेटमा मुख्यगरी सङ्क्रमणकालीन न्याय (टीआरसी) को विषयमा केन्द्रित रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार छलफलमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।
२०६३ साल मङ्सिर ५ गते सरकार र तत्कालीन माओवादीबीच भएको वृहत् शान्ति सम्झौतामा ६ महिनाभित्र सङ्क्रमणकालीन न्यायका विषय टुङ्गो लगाउने भनिएको थियो। तर १७ वर्ष बितिसक्दा पनि यो विषय सुल्झिन सकेको छैन।
यस अवधिमा गठित सत्य निरूपण अनि बेपत्ता छानबिन जस्ता आयोगले ६० हजारभन्दा धेरै उजुरी सङ्कलन गरे पनि पीडितलाई न्याय र परिपूरणको काम टुङ्गोमा पुग्न नसकेको हो।


