काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको व्यवस्थालाई कमजोर पार्ने प्रयास भइरहेको बताएका छन्। सन्त नेता’को छवि बनाएका कृष्णप्रसाद भट्टराईंको शताब्दी जन्म दिवसको अवसरमा आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले अहिलेको व्यवस्था माथि प्रहार गर्ने काम भइरहेको बताएका हुन्।
‘अहिले व्यवस्थामाथि प्रश्न आइरहेको छ । कमजोर बनाउने कुरा भएको छ। हामी सबै एक भएर लाग्नुपर्छ। इतिहास फर्कने कुरा छैन। गणतन्त्रात्मक लोकतन्त्रको माध्यमबाट अघि बढ्नुपर्छ। यसमा कृष्णप्रसाद भट्टराईको ठूलो योगदान छ,’ उनले भने।
देउवाले भट्टराईको विषयमा पार्टीले खोजीनिती गर्न नसकेको बताए। भट्टराईको बारेमा पार्टीले राम्रो पुस्तकसमेत लेख्न नसकेको भन्दै देउवाले भट्टराईंको विषयमा जानकारी दिन पार्टीले पुस्तक सार्वजनिक गर्ने बताए।
उनले भट्टराईको पथमा हिँड्न सकेमात्र कांग्रेस सच्चा प्रजातान्त्रिक दल हुन सक्ने बताए। भट्टराईको पथमा हिँडे वर्तमान राजनीतिक व्यवस्था पनि बलियो बन्ने देउवाले बताए।


