२०८३ साउन १३ गते बुधबार

‘गल्ती गरेँ’ भनिरहन्छन् तर सुधार गर्दैनन् प्रचण्ड

 |  तीर्थराज बस्नेत
Sanket

तीर्थराज बस्नेत

काठमाडौँ, चैत २६
prachanda1

काठमाडौं- सत्ताको नेतृत्व गरिहेको नेकपा माओवादी केन्द्रको बुधबार भएको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणमा पार्टीले गल्ती गरेको भन्दै पहिचानका पक्षमा उभिने निर्णय गरेको छ। माओवादीकै समर्थनमा प्रदेशको नाम कोशी पारित भएपछि विराटनगरलगायतका स्थानमा विरोध भइरहेका बेला प्रचण्डको अभिव्यक्ति र माओवादीको निर्णयले आन्दोलनलाई थप चर्काएको भन्दै आलोचना भइरहेको छ।

फागुन १७ गते प्रदेशसभाको बैठकले प्रदेशको नाम कोशी नामकरण गरेको थियो। पहिलो संविधानसभाको निर्वाचनपछि पहिचानका आधारमा १४ प्रदेशको अवधारणा बोकेको माओवादी केन्द्रले प्रदेशसभामा आफूहरूको शक्ति कमजोर भएको भन्दै कोशी प्रदेशका पक्षमा मतदान गरेको थियो। नामकरणमा कोशीलाई समर्थन गर्ने भन्दै मत दिनु तर पछि अध्यक्ष प्रचण्डले त्यसलाई ‘गल्ती’ भनिदिनु विरोधाभासपूर्ण छ।

प्रदेशको नामकारण भएको केही दिन बित्न नपाउँदै माओवादीकै नेताहरू पनि आन्दोलनमा समेत सहभागी भए। प्रदेश १ को सरकारमा समेत सहभागी माओवादी प्रदेशसभामा कोशीकै पक्षमा मतदान गरेको छ। अनि सडकमा पनि उही दल पुगिरहेको छ। कोशी प्रदेशका पक्षमा मतदान गरेको सत्तासीन दल प्रदेशको नामाकरणका विरुद्धमा भएको आन्दोलनमा समेत सहभागी भएपछि माओवादी आलोचित छ।माओवादीले ‘दोचारे’ प्रवृत्ति देखाएको आरोपसमेत खेपेको छ। आलोचित बन्दै गएपछि गल्ती गरेको अध्यक्ष प्रचण्डको स्विकारोक्ति थियो।

‘पूर्वमा कोशी प्रदेश नामकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो । हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ,’ प्रवक्ता कृष्णबहादुर महराले बैठकपछि बनेका थिए, ‘पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो त्यतिखेर अलिकति कमजोरी भएको छ।’

नामकरणमा कोशीलाई समर्थन गर्ने भन्दै मत दिनु तर पछि अध्यक्ष प्रचण्डले त्यसलाई ‘गल्ती’ भनिदिनु विरोधाभासपूर्ण छ।

माओवादी पार्टी र त्यसका अध्यक्ष प्रचण्डले गल्ती मानेको यो एउटा मात्रै विषय भने होइन। यसअघि पनि प्रचण्डले धेरै विषयमा गल्ती भयो भनेर सार्वजनिक रुपमै स्विकारिसकेका छन्। नेपाली राजनीतिमा अस्थिर र अवसरवादी नेताको छवि बनाएका प्रचण्डका लागि सार्वजनिक रूपमा गल्ती स्वीकार गर्ने कुरा नौलो छैन। उनले भिड हेरेर गल्ती भएको स्वीकार गरेर आन्दोलन थप उत्तेजित बनाउने यत्न गरिरहेका छन्।

गल्ती स्वीकार गरिसकेपछि भुलसुधार मुख्य कुरा हो। तर प्रचण्ड सहजै गल्ती स्वीकार गरिदिन्छन्, सहजै आत्मालोचित भइदिन्छन्। तर प्रवृत्ति भने पुरानै कायम राख्छन्। गल्ती स्वीकार गरेपछि नैतिकता देखाउनुपर्ने हो। तर प्रचण्डमा नैतिकताको खडेरी छ। कम्युनिस्ट पार्टीमा आत्मालोचित भएपछि सबै कुरा मिल्यो भन्ने दर्शन पनि छ। आत्मलोचना गरेपछि गम्भीर गल्ती गरेपनि कम्युनिस्ट पार्टीमा क्षम्य हुन्छ। त्यही कुराको फाइदा प्रचण्ड पनि लिइरहन्छन्।

२०४५ सालयता प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन्। उनीभन्दा अघि तत्कालीन नेकपा (एकता केन्द्र) का महासचिव मोहन वैद्य ‘किरण’ ले सशस्त्र विद्रोहको सुरुवात गर्ने प्रयास गरेका थिए। तर उनको प्रयास सफल हुन सकेन। उनले आफूले गल्ती गरेको महसुस गरेर ‘नैतिकताका आधारमा’ राजीनामा दिएका थिए। तर त्यसयता निरन्तर पार्टीको नेतृत्वमा रहेका प्रचण्डले आफैंलाई कहिलै पनि नैतिकताको कसी उभ्याएको देखिँदैन।

राजनीतिक विश्लेषकहरुका शब्दमा प्रचण्डमा उपयोगितावाद हावी छ। जसका कारण प्रचण्डमा गल्ती स्विकार गर्ने र त्यसलाई सुधार गर्ने भन्दा पनि लाभ उठाउने चरित्र बढी छ। ‘राजनीतिमा उपयोगितावाद भन्ने हुन्छ। त्यो प्रचण्डमा धेरै देखिन्छ। रणनीतिक लक्ष्य निर्धारण गरी राजनीति गर्ने नेताले पाँच वर्षपछि केकस्तो नतिजा आउँछ भन्ने हेरेर मात्रै निर्णय लिन्छ। तर उपयोगितावादी नेताले तत्काल के फाइदा हुन्छ भनेर निर्णय गर्छ। प्रचण्ड रणनीतिक लक्ष्य निर्धारण गरी राजनीति गर्ने नेता होइनन्,’ विश्लेषक मुमाराम खनाल भन्छन्, ‘राजनीतिकरुपमा तत्काल के फाइदा हुन्छ त्यो निर्णय उनले लिइहाल्छन्। फाइदा लिइसकेपछि उतिबेला गलत भएछ भनेर सहानुभूति लिने प्रवृति उहाँको हो। सहानुभूति पनि देखावटी हो। गल्ती सुधार गर्ने उद्देश्य उहाँमा छैन।’

विश्लेषक मुमाराम खनाल।

तत्कालको लाभहानीको हिसाब गरेर प्रचण्डले निर्णय लिने गरेको विषय ‘ओपन सेक्रेट’ छ। गत पुस १० देखि फागुन १३ सम्मको अवधिमा प्रचण्डले लिएका निर्णयले त्यसको पुष्टि गर्छ। पुस १० गते प्रधानमन्त्री बनिछाड्ने उद्देश्य राखेर उनले तत्कालीन पाँचदलीय गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेका थिए। तर, २ महिना बित्न नपाउँदै उनले एमालेसँगको सहकार्य तोडेर पुन: कांग्रेससँग सहकार्य गरे। तत्कालको फाइदा हेरेर उनले यस्ता निर्णय पटक-पटक लिइसकेका छन्। र गल्ती स्विकार गर्ने विषय पनि तत्कालिक लाभहानीसँग जोडिएर आउने विश्लेषक युग पाठकको भनाइ छ।

‘यसलाई प्रोमेटिक पोलटिक्स भन्छन्। कतिबेला के बोल्दा आफ्नो हात माथि पर्छ, फाइदा हुन्छ त्यही गर्ने भन्ने हुन्छ यो पोलटिक्समा। यसमा तत्कालिक फाइदाका आधारमा निर्णय गरिन्छ। रिजल्टसँग मतलब हुँदैन,’ पाठक भन्छन्, ‘जनयुद्धपछि उहाँको राजनीतिक शक्ति खस्कँदै गएको छ। पार्टी पनि कमजोर हुँदै जाने र सारथी पनि छुट्दै जाने स्थिति छ। जसका कारण उहाँलाई जसो गरेर फाइदा हुन्छ त्यसै गरिरहनुभएको छ। गल्ती स्वीकार गर्ने विषय पनि लाभहानीसँग जोडिएर आउने गर्छ।’

०००

प्रचण्डले यसअघि पनि ‘गल्ती भयो’ भनेर पटक–पटक भनेका छन्। गल्तीको स्वीकारोक्ति गर्न उनलाई असहज लाग्दैन। ०७० साउन २३ गते पोखरामा पुगेर उनले विगतमा आफूले लिएको निर्णयलाई गल्तीका रुपमा व्याख्या गरेका थिए। प्रचण्डले तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन नमानेर आफूले गल्ती गरेको उनको भनाइ थियो।

‘गिरिजाबाबुलाई राष्ट्रपति नमान्नु र रुक्मागंत कटवाललाई सेनापतिबाट हटाउनु कता–कता कमजोरी भएको जस्तो मलाई लाग्छ। यिनै गल्तीका कारण यथास्थितिवादी शक्तिले फाइदा उठाए,’ उनले भनेका थिए। माओवादीले १२ बुँदे सहमति अघि गणतन्त्रको बाटोमा अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपति बनाउने आश्वसन दिएको थियो। रामकृष्ण भण्डारीले आफ्नो किताब ‘सत्ता संघर्षमा’ कोइराला-प्रचण्डको भेटका साक्षी रहेका तत्कालीन माओवादी कार्यकर्ता मोती रिजाललाई उद्धृत गर्दै लेखे अनुसार प्रचण्डले कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सघाउने वचन दिएका थिए। त्यो भेटमा प्रचण्डले कोइरालालाई भनेका थिए, ‘तपाई राजतन्त्रको अन्त्य गर्न दह्रोसँग उभिनुस्, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईँ।’

प्रचण्ड।

राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा माओवादीले कोइरालालाई धोका दिएको थियो। कोइरालालाई धोका दिँदै माओवादीले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो। तर नेपालको पहिलो राष्ट्रपति कांग्रेसका रामवरण यादव बनेका थिए। ०६६ सालमा प्रचण्डले तत्कालीन प्रधानसेनापति रुकमाङ्गद कटवाललाई हटाउने प्रयास गरेका थिए। तर आर्मी चिफ माथि हात हाल्दा उनको सत्ता गुमेको थियो।

२०७४ मंसिर १८ गते चितवन पुगेका प्रचण्ड विगत सम्झेर भावुक मात्रै बनेनन्, बाँदरमुढे घटनामा ठूलो गल्ती भएको बताएका थिए। १८ वर्षअघिको सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको घटना सम्झँदै उनले भनेका थिए, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवार सहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्ने बित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ। घटना सुनेको साँझ खाना खाइनँ। राति सुत्न पनि सकिनँ।’ पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्ने बताएका थिए। ‘अब सबै पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ,’ प्रचण्डले भनेका थिए, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ।’

२०६२ जेठ २३ गते माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ४२ जनाको मृत्यु भएको थियो। घटनामा ७२ जना गम्भीर घाइते भएका थिए।

प्रचण्ड आफूले लिएको निर्णयका कारण आफैं पछुताउँदै आएका छन्। त्यस्तै पश्चताप उनले एमालेसँग पार्टी एकता गरेर बनेको नेकपाको अध्यक्ष रहेको बेला गरेका थिए। ०७७ असारमा उनले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वसहमति विपरीत पुरै कार्यकाल प्रधानमन्त्री बन्ने दिने आफ्नो निर्णय गलत भएको बताएका थिए।

पार्टी कमजोर बन्न थापेपछि जसरी भए पनि फाइदाका लागि राजनीति गर्नुपर्ने बाध्यता प्रचण्डलाई एको युग पाठकको भनाइ छ। प्रचण्डका कारण पार्टी पनि प्रचण्डजस्तै फाइदामुखी भएको उनले बताए। ‘जनयुद्धपछि प्रचण्डको राजनीतिक शक्ति खस्कँदै गएको छ। पार्टी पनि कमजोर हुँदै जाने र सारथी पनि छुट्दै जाने स्थिति छ,’ उनी थप्छन्, ‘जसका कारण उहाँले जसो गरेर फाइदा हुन्छ त्यसै गरिरहनुभएको छ। प्रचण्डको कुरा मात्रै होइन पार्टी पनि त्यस्तै छ।’

युद्धताका पार्टीले बलियो गरी मुद्दा पक्रने गरेको पाठकको अध्ययन छ। सत्ताप्राप्तिका लागि आफ्ना मुद्दा छोडेकाले प्रचण्डले गल्ती गरेको बताउने गरेका छन्। शान्तिप्रक्रियासँगै माओवादीले आफ्नै मुद्दा बिर्सिएको उनको टिप्पणी छ। ‘पहिलेका मुद्दा जनयुद्धको बेलामा हेर्ने हो भने संसारले सराप्दा पनि माओवादीले केही मुद्दा दह्रोसँग पक्रिएको थियो,’ पाठक थप्छन्, ‘तर शान्तिप्रकियालाई सफल पार्ने भन्ने चक्करमा मुद्दाहरु छाड्दै गएको छ। पहिले जे मुद्दा बोकेको हो त्यसमै फर्किए गल्ती भयो भन्ने अवस्था नै आइपर्दैन।’

विश्लेषक युग पाठक।

२०७६ मंसिर ४ गते प्रचण्ड कार्यकारी अध्यक्ष बन्ने र संसदको बाँकी कार्यकाल ओली प्रधानमन्त्री बन्ने सहमति भएको थियो। त्यो सहमतिपछि पनि आफूलाई अध्यक्षको भूमिका नदिइएको र मानमर्दन गरिएको भन्दै प्रचण्डले रोष पोखेका थिए। २०७५ जेठ २ गते पार्टी एकता हुँदा गरिएको ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ सहमति छाडेर आफूले गल्ती गरेको उनले बताउने गरेका थिए। ‘मैले जेठ २ को सहमति छाडेर तपाईंलाई पाँचै वर्ष प्रधानमन्त्री मान्छु भन्नु नै मबाट गल्ती भयो,’ तत्कालिन नेकपाको सचिवालय बैठकमा प्रचण्डले भनेका थिए, ‘त्यसले तपाईंको अहंकार मात्र बढायो।’

०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धारमा विभाजित भयो। प्रचण्ड विघटन विरुद्धमा उभिए। उनसँगै माधव नेपाल (हाल नेकपा एकिककृत समाजवादीका अध्यक्ष) पनि उभिए। यो समूहले देशभर प्रतिनिधिसभा विघटनलाई प्रतिगमन भन्दै विरोध गर्‍यो। पुस १४ गते काठमाडौंमा आयोजित विरोधसभामा प्रचण्डले ओली सच्चिए भनेर विश्वास गर्नु गल्ती भएको भन्दै क्षमायाचना गरेका थिए।

‘रगत र बलिदान दिएर हाँसिल गरेको परीणाम हो–यो संविधान। अब कम्युनिस्टलाई मत दिएपछि राजनीतिक व्यवस्था स्थायी हुनेछ । नयाँ युगको प्रारम्भ हुनेछ भनेर नेपाली जनताले हामी माथि भरोसा दिएका थिए,’ उनले भनेका थिए, ‘तीन वर्ष बित्दा नबित्दै, हामीले बनाएको र अघि सारेको प्रधानमन्त्रीबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र माथि प्रहार भयो भनेर उभिएर बोल्दै गर्दा वस्तुतः थोरै क्षमायाचना गर्न चाहन्छु । उहाँ सच्चिनुभयो भन्ठान्नु गल्ती भयो।’

०७७ फागुनमा एमाले र माओवादी मिलेर बनेको नेकपा अस्तित्वमा रहेन। सर्वोच्च अदालतले नेकपा नाम विवादमा एमाले र माओवादीलाई पूर्ववतरुपमा फर्काउने नेकपा नाम ऋषि कट्टेलको पार्टीलाई दिने फैसला गरिदियो। सर्वोच्चको फैसलापछि एमाले र माओवादी व्यूँतिए। तर माओवादीका केही नेता एमाले तिरै रहे। तिनै मध्येका एक थिए, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल। उनले ०७७ चैत २४ गते बादलाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताएका थिए। रुकुम पश्चिमको सदरमुकाम खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘म माथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समिति बनाए। गल्ती त भएकै हो । दुःखसुःखमा साथ दिन जनता छाडेर अन्य पार्टी र देशी-विदेशीसँग लागेर धोका दिए।’

त्यसो त उनले एक कालखण्डमा लिएका निर्णय नै गलत भएको आत्मालोचना पनि नगरेका हैनन्। पार्टी निरन्तररुपमा कमजोर बन्न थालेपछि विगतमा गरिएका निर्णय नै गल्ती थिए भन्ने अवस्थामा पनि प्रचण्ड पुगेका देखिन्छन्। तर ती गल्तीलाई कसरी सुधार्ने भन्ने विषयमा भने उनी मौन प्राय: देखिन्छन्। त्यसैको उदाहरण हो- माओवादी केन्द्रको आठौं महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन।

पार्टीको आठौँ महाधिवेशनमा पार्टीको प्रतिवेदन पेस गर्नुअघि अभिवादन गर्दै प्रचण्ड।

२०७८ पुस १६ गते प्रतिवेदन पेस गर्दै उनले आफूले गल्ती गरेको स्वीकार गरेका थिए। पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले ३ वटा गल्ती गरेको स्वीकार गरेका छन्। प्रचण्डले पालुङटारमा भएको पार्टीको विस्तारित बैठकपछि आफ्नो पार्टी चुनावमा सहभागी हुन तयार भएको बताइएको भए पनि खासमा चुनावमा जाने भन्ने कुरा तत्कालीन समयमा ‘देखाउने दाँत’ मात्र भएको खुलासा प्रतिवेदन मार्फत गरेका थिए।
त्यतिबेला आफू ‘मुखमा चुनाव मनमा विद्रोहको नीति लिएर अगाडि बढेको र यो कुरा आफ्नो गल्ती भएको स्विकार गर्दै उनले ‘चुनावलाई मात्र केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने र विद्रोहलाई प्राथमिकता नदिनुपर्ने थियो’ भनेका छन्। प्रचण्डले ‘विद्रोहको कुरै गर्नु हुँदैनथ्यो, त्यहाँ गल्ती भयो’ भनेका छन्। प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती भएको स्वीकारेका छन्।

‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो।’ प्रचण्डले प्रचण्डपथलाई अकस्मात् स्थगित गर्नुलाई पनि गल्ती भएको स्वीकार गरेका छन्। ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपर्थ्यो, विचार थियो भने छलफल गर्नुपर्थ्यो ।’

गत पुस ३६ गते प्रतिनिधिसभामा विश्वासको मत माग्दै गर्दा आफू विगतका गल्तीहरुमा आत्मसमीक्षा गर्दै अघि बढ्न चाहेको बताएका थिए। उनले विगतमा २ पटक ९–९ महिना प्रधानमन्त्री भएको, तर तत्कालीन समयमा आफूले धेरै गर्न नसकेको स्वीकार गर्दै यसपटक त्यसलाई चिर्ने चुनौती रहेको बताएका थिए। ‘यसअघि ९–९ महिना प्रधानमन्त्री भए। पहिलोपटक हुदाँ न अनुभव थियो न जानकारी। भित्र र बाहिरको संघर्षमा जुझ्दा जुझ्दै मेरो समय बितेको थियो,’ उनले भनेका थिए, ‘मेरो दोस्रो कार्यकाल ठूलो वैदेशिक उतार–चढाव आएको समयमा भएको थियो। संविधान संशोधनमार्फत् मधेसलाई विश्वास लिने प्रयास गरेको थिएँ। स्थानीय निकायको निर्वाचन गर्दै संविधान कार्यान्वयन गर्ने प्रयास गरेका थिएँ। आर्थिक वृद्धि ७ प्रतिशतसम्म पुर्‍याएको थिएँ। आफू तेस्रोपटक प्रधानमन्त्री भएकाले इमान्दारिताका साथ अघि बढ्ने भन्दै विगतमा चुकेको, तर अब यो गल्ती गर्ने छुट नभएको बताएका थिए।

तेस्रो पटक प्रधानमन्त्री बनेका उनको यो कार्यकाल पनि गल्तीरहित हुने देखिँदैन। सरकार बनेको १०० दिन कटिसक्दा पनि उनले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। यो बीचमा सात पटक मन्त्रिपरिषद् हेरफेर भइसकेको छ। उनी आठौं प्रयासमा मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छन्। यो बीचमा उनले सत्ता समीकरण समेत बदलेका एमालेसँगको सहकार्य तोडेर कांग्रेसँग हात मिलाएका छन्। त्यो पनि गल्ती स्वीकार गरेरै।

चैत ६ गते उनले एमाले अध्यक्ष ओली सुध्रिएको भन्ठाने पनि वास्तविकता त्यस्तो नरहेको बताएका थिए। प्रतिनिधिसभामा दोस्रो पटक विश्वासको मत लिँदै उनले भनेका थिए, ‘विगतमा हामी ठूलो झगडा गरेका पार्टी छौं। फेरि एक ठाउँमा हुँदा हामी अघि जान सक्दैनौं भन्ने भएपछि हिजो भएका वादविवाद र घटनाक्रम २/३ वर्ष थाती राख्ने भन्ने भएको थियो। एमाले र मुख्य नेतृत्वलाई पनि ‘रिलाइज’ भयो होला भन्ने थियो मलाई,’ उनले भने, ‘म अलि सोझो सोझो छु क्या मान्छे। होला त नी भनेर गएको। तर विश्वासको मत लिँदा उहाँले सगौरव मैले संसद् विघटन गर्नु सही हो। क्यानडामा इंग्लयान्डमा यहाँ पनि शेरबहादुरले गरेको हो भन्नुभयो। त्यही बेला अब यो भंग हुने तिर गयो भन्ने भित्रसम्म पुगिसकेको थियो।’

प्रचण्डको ढुलमूले प्रवृत्ति पुरानै भएको विश्लेषक खनालको भनाइ छ। जनयुद्धकालमा पनि नेताहरूबीचको अवधारणामा खेलेर उनले फाइदा लिने गरेका थिए। युद्धकालमा कहिले डा बाबुरामसँग त कहिले नेता मोहन वैद्यसँग मिलेर अर्को नेतालाई साइजमा राख्ने प्रयास गर्दथे। उनीहरू दुवैका आआफ्नै लक्ष्य भएपनि प्रचण्डको खास लक्ष्य थिएन। ‘जनयुद्धकालमा पनि उहाँको बानी उस्तै थियो। तत्कालिक कुराले गर्दा उनी कहिले बाबुरामसँग मिल्थे। कहिले मोहन वैद्यसँग। बाबुराम र वैद्यका आ-आफ्ना गोल सेट थिए,’ राजनीतिक विश्लेषक खनाल भन्छन्, ‘बाबुरामको शान्तिप्रकियाका माध्यमबाट कम्युनिस्ट पार्टीलाई सोसल डेमोक्रेटिक पार्टीमा रुपान्तरण गर्ने लक्ष्य थियो। वैद्य चाहिँ स्टालिनको जस्तो कट्टरताबादी दृष्टिकोण चाहिँ वैद्यको थियो। ती दुवै प्रवृतिमा खेलेर प्रचण्डले फाइदा लिए।’

प्रकाशित: २०७९ चैत २६ गते आईतबार ०४:२९
Sanket

तीर्थराज बस्नेत

बस्नेत राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
प्रतिक्रिया

थप समाचार

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

नेपाल टेलिकमका सबै टावरमा विद्युत् सेवा पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ: सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न र सम्भव भएसम्म टेलिकमका सबै टावरमा भरपर्दो विद्युत्...

मन्त्री श्रेष्ठले गरे दुई विभागको नेतृत्व हेरफेर, विद्युत्‌मा गौतम र सिँचाइमा डा. श्रेष्ठ

काठमाडौँः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् विकास विभाग र सिँचाइ विभागको नेतृत्व परिवर्तन गरेको छ। मन्त्री विराजभक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णय गर्दै दुवै विभागमा नयाँ...

सर्वदलीय बैठकको सातबुँदे वक्तव्यः अफवाह नफैलाउन र शान्ति कायम राख्न आग्रह

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा मंगलबार बसेको सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चासो...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना