काठमाडौँ- निलम्बन फुकुवाको माग गर्दै नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले संसद् सचिवालयमा निवेदन दिएका छन्। उनले आइतबार दिउँसो सचिवालयमा गएर निवेदन दिएका हुन्।
अदालतबाट निर्दोष भएपछि मेरो निलम्बन फुकुवाका लागि निवेदन दिएको उनले बताए। मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका असई थमन बिकको हत्या आरोप लागेका कोइरीलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
त्यही बेला फरार रहेका कोइरीले महोत्तरी क्षेत्र नम्बर १ बाट चुनाव जितेका थिए। अदालतले फौजदारी कसुरमा थुनामा पठाउने निर्णय गरेपछि उनी निलम्बनमा परेका थिए। तर मंसिर २८ गते जिल्ला अदालत महोत्तरीले उनलाई सफाइ दिएको थियो ।


