काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएपछि छानबिन गर्न बनेको समितिले विमानस्थलको सीसीटीभी फुटेज नै नपाएको उल्लेख गरेको छ। सुन बरामद भएपछि छानबिन गर्न बनेको विमानस्थलका भन्सार प्रमुख टोकराज पाण्डे नेतृत्वको समितिले फुटेज नपाएको हो।
पाण्डे नेतृत्वको समितिले पछिल्लो तीन महिनाको फुटेज माग गरेको थियो। तर २१ दिनको मात्रै सीसीटीभी फुटेज आफूहरुलाई उपलब्ध भएको समितिले जनाएको छ। ‘हामीले पछिल्लो तीन महिनाको सीसीटीभी फुटेज माग गरेका थियौं। तर ३ महिनासम्मको रेकर्ड नबस्ने भन्दै जम्मा २१ दिनको मात्रै उपलब्ध गराइयो,’ समितिले भनेको छ।
भीआईपी कक्षतर्फको भने सीसीटीभी फुटेजमा कभरेज नै नभएको पनि समितिले जनाएको छ। भीआईपीतर्फको एरिया सीसीटीभीटी फुटेजमा कभरेज नभएपछि भीआईपी एरिया दुरुपयोग गरेर पनि सुन तस्करी भएको हुनसक्ने आशंका समितिको छ।
घटनास्थल मुचुल्का, सुन परीक्षण, मोबाइलबाट प्राप्त सूचना, कल डिटेल विश्लेषण, टिकटको बिक्री वितरण, ट्राभल हिस्टी, अभियुक्तको बयान लगायतलाई आधार बनाउँदै अनुसन्धान गरेर प्रतिवेदन बुझाइएको समितिले जनाएको छ।
दुबईदेखि सुन ल्याएर विमानस्थलबाट पास गर्नेक्रममा विभिन्न फरक फरक व्यक्तिले भूमिका खेलेको पनि उल्लेख गरिएको छ। यो समूहले अहिलेसम्म १३८ किलो सुन विमानस्थलबाट पास गरिसकेको बताइएको छ।


