काठमाडौँ- नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ। गत वैशाख १९ गते निलम्बनमा परेका उनको निलम्बन आइतबार फुकवा भएको हो।
२०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या अभियोग लागेका फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएको थियो। सोही मितिदेखि कोइरी फरार थिए।
गत वर्ष मंसिर ४ मा भएको चुनावमा महोत्तरी १ बाट प्रतिनिधि सभा सदस्यमा चुनिए। प्रतिनिधि सभाका केही बैठकमा उपस्थित भएका कोइरी फरारको सूचीमा रहेको भनी प्रश्न उठेपछि सम्पर्कविहीन भए।
मंसिर २९ गते जिल्ला अदालत महोत्तरीको फैसलासँगै उनले सफाइ पाएका थिए। कोइरीले निलम्बन फुकुवाको माग गर्दै संसद सचिवालय पुगेका थिए।



