काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई खोया प्रहार गर्नेलाई १० दिन हिरासतमा राखिने भएको छ। प्रहरीका अनुसार मकैको खोया प्रहार गर्ने ३३ वर्षका सन्तोष रानाभाटलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न थालिएको हो।
सभापति लामिछानेमाथि शनिबार पोखराको अमरसिंह चोकमा भएको सभामा लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ का रानाभाटले खोया प्रहार गरेका थिए।
सभालाई लामिछानेले सम्बोधन गरिरहँदा दिउँसो साढे २ बजेतिर उनले मकैको खोया प्रहार गरेका हुन्। खोया लामिछानेलाई नलागी मञ्चमा खसेको थियो। रानाभाटलाई तत्काल नियन्त्रणमा लिई सम्झाउन खोज्दा प्रहरीमाथि नै दुर्व्यवहार गरेको कास्की प्रहरीको दाबी छ।
ड्युटीमा रहेका प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज एवं हातपातसमेत गर्ने प्रयास गरेकाले रानाभाटलाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए।
रानाभाटलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने कसुरमा १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको विकले बताए।


