काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा दुई सय जना नेपाली नागरिक भर्ना भएको आशंका गरिएको बताएका छन्। रुसी सेनामा भर्ना हुन पुगेका एक सय जना नेपाली हराइरहेको उजुरी मन्त्रालयमा आएको उनले बताए। रासससँगको कुराकानीमा उनले बेपत्ता भएकाहरुको खोजीका लागि सरकारले प्रयास गरिरहेको बताए।
‘रूसी सेनामा केही नेपाली नागरिक भर्ना भएको र त्यसमध्ये सात जना मारिएको भन्ने सूचना रूसी सरकारले नै दिएको छ,’ मन्त्री साउदले भनेका छन्, ‘यसबाहेक सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। उनीहरूका परिवार र साथीभाइले खबर गरेका छन्।’
बेपत्ता नेपाली युवाको खोजीका लागि नेपालस्थित रूसी राजदूतलाई बोलाएर आफूले कुराकानी गरेको उनले उल्लेख गरे। काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ।
‘करिब दुई सय जना काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको आशंका गरिएको छ। त्यसभन्दा केही बढी भर्ना भएको हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘किन भने सय जना हाराहारीमा हराइरहेका र घाइते भएकाको उजुरी मन्त्रालयमा आएको छ। यो संख्या दुई सयभन्दा बढी रहेको हुन सक्ने हाम्रो अनुमान छ।’
युक्रेनले नियन्त्रणमा लिएका नेपालीलाई पनि फर्काउनका लागि युक्रेनी सरकारसँग पनि सम्पर्क गरेको मन्त्री साउदको भनाइ छ।


