काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय समाजमा नकारात्मक सोच र शैली हावी हुँदा त्यसले समग्रमा व्यक्ति र समाज समेतको सिर्जनात्मकता खुम्चिँदै गएको बताएका छन्। आफ्नो नेतृत्वमा सरकार बनेको १ वर्ष अवधिको समीक्षा र अबको योजनासहित देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक सोच र भावनाले नतिजा दिन नसक्ने बताए।
‘अहिले म नेपाली समाजमा अत्यन्त चिन्ताजनक रूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको देखिरहेको छु। ‘सकिन्न, बन्दैन, हुँदैन’ भन्ने नकारात्मकताले जरैदेखि समाजको सिर्जनात्मकता मारिरहेको छ’, प्रधानमन्त्री दाहालले भने।
‘एकथरि तत्त्वले त नियोजित रूपमै यो मानसिकतालाई मलजल गरिरहेका छन्। यस्तो वातावरण बनाउने प्रयास भइरहेको छ कि देशमा सबै नराम्रो मात्र भइरहेको छ,’ उनले भने।
पछिल्लो समय मुलुकको आर्थिक अवस्था सुधार हुँदै गएको प्रधानमन्त्री दाहालको दाबी छ। विभिन्न सूचकले पनि त्यसको पुष्टि गर्ने भएकाले आफूले सरकारको प्रतिरक्षा गरेको भन्दा पनि वास्तविकता बोलेको उनको भनाइ छ।
‘आज नागरिकसामु प्रत्यक्ष रूपमै वार्षिक रिपोर्ट पेस गर्दैगर्दा म प्रतिरक्षात्मक छैन किनकि, समष्टिगत आर्थिक परिसूचकहरू सकारात्मक छन्। एक वर्षअघि जम्मा ३ महिनाको मात्र आयात धान्नसक्ने सामर्थ्य रहेको देशसँग अहिले विदेशी मुद्राको सञ्चिति इतिहासकै उच्च छ’, प्रधानमन्त्री दाहालले भने। सधैँ घाटामा रहने सार्वजनिक संस्थान अहिले नाफामा जान थालेको दाहालको दावी छ।
अहिले अर्थतन्त्रमा देखिएको सुधार पर्याप्त र चित्तबुझ्दो अवस्थामा भने नरहेको प्रधानमन्त्री दाहाल स्वयम्को स्वीकारोक्ति छ। सोचे अनुरुप उपलब्धि हासिल गर्न नसक्नुको कारण खोज्न सरकार लागिपरेको पनि उनले बताए।


