काठमाडौँ– सरकारमा सबैभन्दा बढी ९ मन्त्रालयको जिम्मेवारी लिएको दल नेपाली कांग्रेसले मन्त्रीहरूको कार्यसमीक्षा गर्ने भएको छ। बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कार्यसमीक्षा हुने भएको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बिहीबार दिउँसो १ बजेदेखि केन्द्रीय समिति बैठक सुरु हुँदैछ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक वर्ष र त्यसमा साझेदारी गरेको कांग्रेसका मन्त्रीले गरेका कामको समीक्षा बैठकले गर्ने उनको भनाइ छ।
मन्त्रीहरूले पार्टीसँग समन्वय नगरी आफूखुशी काम गरेको भन्दै कांग्रेसमा गुनासो बढिरहेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्। यसका साथै राष्ट्रिय सभा निर्वाचन र महासमिति बैठकको तयारीका विषयमा पनि बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ।
कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ, अर्थमन्त्री डा प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकुदमन्त्री डिगबहादुर गुरुङ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य छन्।
माघ ११ मा हुने १९ सिटका लागि हुन लागेको राष्ट्रिय सभा चुनावमा कांग्रेसले सत्ता गठबन्धनसँग तालमेल गर्ने बताइसकेको छ। राष्ट्रियसभामा अध्यक्षसमेत लिने गरी कांग्रेसले चुनावी तालमेल गर्ने गृहकार्य गरेको छ। राष्ट्रिय सभा अध्यक्ष बन्ने गरी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता गोपालमान श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार बन्न लबिङ गरिरहेका छन्।
नेपाली कांग्रेस कोशी प्रदेश समितिले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। विराटनगरमा बसेको बैठकले जिल्लागत सिफारिसका आधारमा केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।
उता कांग्रेस कोशी प्रदेशले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महेश आचार्य, डा. मीनेन्द्र रिजाल र सुजाता कोइरालाको नाम राष्ट्रिय सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस गरेको छ। उनीहरु चारै जान यसअघि मन्त्री बनिसकेका नेता हुन्। यसैगरी, डिला संग्रौला, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला पनि प्रदेश समितिको सिफारिसमा परेका छन्।
यस्तै पटक-पटक सरेको सर्यै गरेको कांग्रेस महासमिति बैठक फागुनमा ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने भनिएको छ। यद्यपि उक्त मितिमा पनि महासमिति बैठक हुनेमा कांग्रेसकै नेताहरू विश्वस्त छैनन्।
२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति महाधिवेशनकोसमेत काम गर्ने गरी महासमिति बैठक गर्ने भनिएको छ।
विधानमा महाधिवेशन भएका वर्षबाहेक अरू वर्ष कम्तीमा एक पटक महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ। तर पछिल्लो महाधिवेशनपछि कांग्रेसले एकपटक पनि महासमिति बैठक गरेको छैन।
