काठमाडौँ- पूर्वडीआइजी महेशविक्रम शाहसहित दुई जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पूर्वडिआइजी शाहसहित दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो।
विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीका अनुसार पूर्वसई दीपेन्द्रप्रसाद पनेरू पनि दोषी ठहर भएका छन्।
२०७२ सालमा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा शाहले नामै नभएका कर्मचारीको तलब, रासन बुझी राज्यकोषबाट लाखौं ठगी गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो।
उनीहरूले तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७६ फागुन २० गते पूर्वडिआइजी शाह, पूर्व सई पनेरू, प्रहरी हवल्दार केशवसिंह ऐरी र लेखापाल सञ्जिब विशुंखेविरूद्ध मुद्दा दायर गरेको थियो।
ऐरी र विशुंखेले सफाइ पाएका छन्। इजलासले उनीहरूबारे आदेश जारी गरेपनि सजायका लागि फेरि पेस गर्न भनिएको छ। सजाय निर्धारणको लागि पुस २५ गतेको लागि पेसी तोकिएको उपरजिष्ट्रार कार्कीले बताए।
२०२२ सालमा जन्मिएका शाहलाई २०६३ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो। उनलाई छापामारको छोरो कृतिका लागि २०६४ साल आश्विन २६ गते ‘मदन पुरस्कार २०६३’ बाट सम्मानित गरिएको थियो।
उनका सटाहा (कथासङ्ग्रह, वि.सं. २०५३), सिपाहीकी स्वास्नी (कथासङ्ग्रह, वि.सं. २०५९), अफ्रिकन अमिगो (कथासङ्ग्रह, वि.सं. २०६०), छापामारको छोरो (कथासङ्ग्रह, वि.सं. २०६३), काठमाडौँमा कामरेड (कथासङ्ग्रह, वि.सं. २०६५), ज्याक्सन हाइट (कथासङ्ग्रह, वि.सं. २०६९) र भुइँखाट (कथासङ्ग्रह, वि.सं. २०७४) प्रकाशित कृति हुन्।


