काठमाडौँ- समाजवादी मोर्चाले संयोजकमा एकीकृत राजावादीका अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको छ। बैठकले हाल संयोजकको जिम्मेवारीमा रहेका नेपाललाई नै निरन्तरता दिने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका मोर्चाका सदस्य सचिव प्रमेश हमालले जानकारी दिए।
मोर्चाको संयोजक पालैपालो गर्ने र ६, ६ महिनामा संयोजक परिवर्तन गर्ने यसअघिको निर्णय थियो। त्यस आधारमा नेता नेपालको कार्य अविधि सकिसकेको छ। मोर्चाको बैठकमा नेकपाका नेताहरू नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा लगायतमाथि अदालतले जारी गरेको पक्राउ पुर्जीका बारेमा समेत छलफल भएको छ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेकपा विप्लव समूहसमेत चार दल सहभागी समाजवादी मोर्चाको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेत्रविक्रम चन्द विप्लव तथा उपेन्द्र यादवविरुद्धकाे मुद्दाबारे भएका राजनीतिका सहमतिहरू न्यायालय समक्ष जानकारी गराउने निर्णय गरेको हाे।
राजनीति र अदालतको कार्यशैली फरक पर्ने तर राजनीतिक मुद्दाका विषयमा दलहरूबीच भएका सम्झौता सरकारलाई तथा न्यायालयलाई जानकारी गराउने सहमति भएको हो।
पछिल्लो समय प्रधानमन्त्रीकै विरुद्धमा अदालतमा मुद्दा विचाराधीन छ। उपेन्द्र यादवको विरुद्धमा पनि मुद्दा छ। केही दिनअघि विप्लवको विरुद्धमा मुद्दा रहेको र गिरफ्तार गर्न आदेश पनि आएको थियो।
चरणचरणामा सरकारले गरेको सहमति तथा सम्झौता कार्यान्वयनका लागि अनुरोध गर्ने मोर्चाको निर्णय छ। बैठकले माघको पहिलो हप्तामा अन्तरक्रिया र दोस्रो हप्तामा सहिद दिवसका अवसरमा पनि कार्यक्रम गर्ने निर्णय गरेको छ। सम्भव भएका जिल्लामा सन्देश सभासमेत गर्ने र मोर्चाको सङ्गठन विस्तार हुन बाँकी रहेका जिल्लामा पुस मसान्तसम्ममा गठन गरिसक्ने मोर्चाले निर्णय गरेको छ।


