काठमाडौँ- जाजरकोटमा भूकम्प पीडित भएर त्रिपालमुनि बास गरेकी सुत्केरी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका ९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपाली रहेकी छन्। उनको बुधबार बिहान मृत्यु भएको हो।
मङ्सिर १७ गते सुत्केरी भएर दुई छोरालाई जन्म दिएकी कल्पनाको बास त्रिपालमुनि भएपछि चिसोका कारण मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए।
सुत्केरी कल्पना बिरामी परेपछि स्वास्थ्य चौकी पैकमा लिँदै गर्दा मृत्यु भएको अध्यक्ष बस्नेतले बताए। कात्तिक १७ गते मध्यरात गएको भूकम्पले घर चर्किएपछि त्रिपालमुनी बस्दै आएकी उनले चिसो छेक्ने न्यानो कपडा नहुँदा, पोषिलो खानेकुरा नपाउँदा ज्यान गुमाउनु पर्यो।
सरकारले अस्थायी आवासका लागि घोषण गरेको ५० हजार रुपियाँ मध्य पहिलो किस्ता २५ हजार पाउन नसकेपछि नागरिक त्रिपालमुनी बस्न बाध्य भएका छन्। न्यानो आवास नपाउँदा सुत्केरी, गर्भवती र बालबालिकाको बिचल्ली भएको छ।


