काठमाडौँ- दशरथ रंगशालामा आइतबार साँझ त्रिभुवन आर्मी क्लबले सातदोबाटो युथ क्लबबीचको खेल रोमाञ्चक बन्यो। अन्तिम नतिजामा ३-३ को बराबरी भएपनि आर्मीले तीनै पटकको अग्रता पनि जोगाउन सकेन।
‘मुख्यतः खेलाडीको चोटको कारण यस्तो भएको हो। हामीले नयाँ खेलाडीलाई खेलाउनु परिरहेको हो। टेक्निकल क्षेत्रमा पनि काम अलि गर्नुपर्ने भएको देखिएको छ,’ खेलपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले आफ्नो टिमको खेलबारे बताए, ‘हाम्रो टिमले खाएको गोल हेर्दा गोलकिपर पनि अनफिट भन्नुपर्ला जस्तो छ।’
आर्मी टिमका कप्तानसमेत रहेका जिलेस्पीजंग कार्कीले खेलको चौथो मिनेटमै आर्मीलाई अग्रता दिलाएका थिए। तर सातदोबाटोका दीपकराज सिंह ठकुरीले २५औं मिनेटमा गोल गर्दै बराबरी गरिहाले। उनको प्रहार आर्मीकै खेलाडीको खुट्टाबाट डिफ्लेक्सन भएर गोलपोस्टभित्र पुगेको थियो। बराबरीपछि आर्मी अट्याकिङमा रोकिएन। ३७औं मिनेटमै कार्कीले नै गोलकिपरबाट बल खोस्दै टिमका लागि दोस्रो गोल गरे। डिफेन्डरले क्लियर गरेको बललाई पोस्टअघिबाट प्रहार गरेर उनले गोल गरेका थिए। पहिलो हाफमा आर्मी २–१ ले अघि रह्यो।
दोस्रो हाफको ४८औं मिनेटमा सातदोबाटोका उज्ज्वेकिस्तानी खेलाडी सरदोरबेक मत्मुरातोभले हेडर गोल गरे। सातदोबाटोले पुनः एक गोलले पछि परेको अवस्थाबाट गोल गरेका थिए।
यता, दास्रो हाफको ५२औं मिनेटमा आर्मीले फेरि अग्रता बनाइहाल्यो। दीपक गुरुङले पोस्टको दायाँबाट गरेको प्रहार भुँइमा ड्रप हुँदा गोलकिपर झुक्किएपछि सातदोबाटोले गोल बेहोरेको थियो। त्यसपछि सातोदोबाटोका प्रशिक्षकले गोलकिपर परिवर्तन गरेका थिए। खेलको पाँच मिनेट बाँकी रहँदा सातदोबाटोले खेललाई फेरि बराबरीमा ल्यायो।
सातदोबाटोका विलियम ओपोकुले फ्री किकमार्फत् सिधै गोल गरिदिए। उनको गोलसँगै खेल बराबरी भएको हो। आजको खेल लिगको उच्च स्कोर भएको खेलमध्येको एक हो। यसअघि पनि आर्मीले एनआरटीसँग ३–३ को बराबरी खेलेको थियो। आज पनि बराबरी खेलेपछि ७ खेलबाट ९ अंक बनाएको छ। यता सातदोबाटोले भने ७ खेलबाट १३ अंक जोडेको छ।

आर्मीका प्रशिक्षक न्यौपानेले सातदोबाटोको विदेशी खेलाडीले राम्रो प्रदर्शन गरेको बताए। ‘सातदोबाटोको टिमबाट विदेशी खेलाडीले राम्रो खेलेको देखियो। हामीले बनाएको अवसरमा पनि गोल गर्न चाहीँ सकिएन,’ उनले भने, ‘जिलेस्पीले गोल गरेका छन्। स्कोरिङमा सुरुधार हुँदै गएको छ।’ यता आफ्नो खेलाडी घाइते भएको र रिकभरी समय छोटो भएकाले खेलाडीमा घाटा लागिरहेको प्रशिक्षक नवीन बताउँछन्।
‘हामी अझैसम्म उपाधिको दौडमा छौँ। ९ अंकले पछि त हो। धेरै खेलाडी भए पनि गुणस्तरीय चाहिँ छैनन्,’ न्यौपानेले अन्तिममा भने, ‘हामीले प्रपोजलमा विदेशी खेलाडी चाहिन्छ भनेका छौं। तर नेपालीलाई नै निरन्तरता दिने राख्ने कुरा भएको छ। सुरुमा जुन खेलाडी छ त्यसलाई नै बनाउनु पर्ने अवस्था छ। जति अर्गनाइज हुनुपर्ने त्यो भएको छैन।’
यता सातदोबाटोका प्रशिक्षक सनोज श्रेष्ठले चाहिँ गुमाइसकेको खेलमा पनि अन्तिममा गोल गरेर अंक खोसेको बताएका छन्। ‘गुमाइसकेको अंकमध्ये एक अंक पायौँ। उनीहरुले राम्रो नै प्रदर्शन गरिरहेका छन्। दीपकराज सिंह ठकुरीलाई वान मेन स्ट्राइक खेलाइरहेको हो। त्यसले गर्दा हामीले अगाडि दबाब बनाइरहेका थियौँ,’ सनोजले भने।


