काठमाडौं- अघिल्ला २ वटा केन्द्रीय समितिको बैठक लाइभ गरेको कांग्रेसले विहिबारबाट सुरु भएको बैठक भने लाइभ गरेन्। लाइभ नभएको बैठकमा जाजरकोटमा गएको भूकम्प देखि मन्त्रिपरिषद् पुनर्गठनसम्मको चर्चा भएको छ।
बैठकको सुरुवातमा महामन्त्री विश्वप्रकाश शर्माले एजेन्डा पेश गरेका थिए। उनले मुख्यतः ५ वटा ऐजेन्डा बैठकमा पेश गरेका थिए। पहिलो- महासमिति बैठक तयारी। दोस्रो-समसामयिक राजनीतिक घटनाक्रम। तेस्रो- सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनको अवस्था। चौथो- जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा। र, समुदायमा कांग्रेस: मेलमिलाप दिवसदेखि सहिद दिवससम्म।
शर्माले एजेन्डा पेश गरेपछि अर्का महामन्त्री गगनकुमार थापाले धारणा राखेका थिए। उनले पार्टी संगठनका विषयमा धारणा राखेका थिए। उनले सरकारमा रहेका मन्त्रीहरुले गरेका राम्रा कामलाई जनतासम्म लैजानुपर्ने बताए। उनले भ्रातृ संस्थाका महाधिवेशनबारे छलफल गरेर निर्णय लिनुपर्ने आवश्यकता औंलाएका थिए। ‘भ्रातृ संस्थाका महाधिवेशनबारे छलफल गरौं र उचित निर्णय लिऔं,’ उनले भनेका थिए।
थापापछि बोलेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आठ सय डाक्टरहरूको काज फिर्ता गरेर दुर्गमका जनतालाई सेवा दिइएको बताएका थिए। उनले स्वास्थ्य बीमाको समस्या गर्ने काम बताएका थिए। सभापति देउवाले बाँकी आठ जना मन्त्रीले शुक्रबारको बैठकमा लिखित रूपमा धारणा राख्ने जानकारी गराउँदै केन्द्रीय सदस्यहरूलाई बोल्न समय दिएका थिए।
केन्द्रीय सदस्य डिला संग्रौलाले राष्ट्रिय सभामा पार्टीले उम्मेदवार छनोट गर्दा न्यायको सिद्धान्त अनुरुप मापदण्ड बनाउनुपर्ने बताएकी थिइन्। सहमहामन्त्री जीवन परियारले जाजरकोट भूकम्पपछि कांग्रेसले गरेका कामका रिपोर्ट पेश गरेका थिए। उनले मातृ पार्टी र भातृ संस्थाले जाजरकोट र रुकुम पश्चिम पुगेर श्रमदान गरी बनाएका टहराका तथ्यांक पेश गरेका थिए।
केन्द्रीय सदस्य दीपक गिरीले पार्टीले सुरू गर्न लागेको समुदायमा कांग्रेस अभियानजस्तो संसदमा पनि कांग्रेसको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिएका थिए। उनले सहकारीका नाममा ठगीका कुरा आइरहेकोले त्यस विषयमा भण्डाफोर गर्नुपर्ने बताए।
केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन संकेत गरेको भन्दै कांग्रेसका मन्त्रीहरुले गरेका कामबारे जान्ने इच्छा देखाए। उनले सामाजिक सञ्जालमा कांग्रेस र कांग्रेसका मन्त्रीहरूका कामकारबाहीबारे धेरै टिप्पणी हुने गरेको बताएका थिए। उनले पनि राष्ट्रिय सभा चुनावका लागि उम्मेदवार तय गर्नुअघि निश्चित मापदण्ड बनाउन आग्रह गरेका थिए।
बिहीबार १५ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। उनले शुक्रबार बिहान ११ बजे सानेपामा पुन: बैठक बस्नेछ।


