काठमाडौँ- मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्।
बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ। भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले थप सतर्कता अपनाउने र संयमित हुने निर्णय पनि बैठकले गरेको छ।
शुक्रबार इपीएस भाषा परीक्षामा आवेदन दिन पाउने/नपाउने विषयलाई लिएर आन्दोलित भएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए।
घटना हुँदा फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका पीएसओलाई निलम्बन गर्ने निर्णय सरकराले यसअघि नै गरेको थियो। यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई पनि प्रहरी हेडक्वार्टर र सीडीओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय गरेको थियो।
घटनाको छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।
समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।
ईपीएस आवेदनका विषयमा तनाव हुँदा ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोलीसमेत चलाएको थियो।
घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो।


