काठमाडौँ– ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोल अन्तरले हराउँदै ललितपुरले उपाधि जितेको हो।
ललितपुरलाई जित दिलाउन इमो एजिकेलले दुई गोल गरे। त्यस्तै दिनेश हेम्जनले एक गोल गरे। धनगढीका लागि ओलावाले अफिज र अहमेद हिजाजिले एक–एक गोल गरे।
खेलमा सुरुवाती अग्रता भने धनगढी एफसीले बनाएको थियो। धनगढीका लागि ओलावाले अफिजले खेलको ३९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमो एजिकेलले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए।
खेलको ५१ औं मिनेटमा दिनेशले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाएका थिए। खेलको ५८ औं मिनेटमा एजिकेलले व्यक्तिगत दोस्रो गोल गर्दै ललितपुरलाई ३–१ गोल गर्दै टिमलाई जिततर्फ लिए।
खेलको इन्जुरी समयमा हिजाजले गोल गरे पनि ललितपुरले ३–२ गोलको जित निकाल्न सफल भएको हो। जितसँगै ललितपुरले ७० लाख पुरस्कार पाएको छ।
