काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीसँग रिपोर्ट कार्ड माग गरेका छन्। पार्टीको केन्द्रीय समिति बैठकमा उनले जनताको जीवनमा प्रत्यक्ष प्रभाव गर्ने गरी ८ महिनासम्म गरेका कुनै ८ कामको रिपोर्टको विवरण माग गरेका हुन्।
महामन्त्री थापाले अब एक वर्षमा सरकारमा बसेर गर्ने कामको लक्ष्य निर्धारण गर्नुपर्ने बताए। उनले ती लक्ष्य पुरा नगर्ने मन्त्री परिवर्तन गर्नुपर्ने पनि बताए। अरू पार्टीसँग मिसन ८४ भन्न छुट रहेको भन्दै उनले काँग्रेससँग त्यो छुट नरहेको बताए।
उनले छलफल गरेर नीति अधिवेशनबाट मिसन गुणस्तरीय शिक्षा, मिसन सर्बसुलव स्वास्थ्य, मिसन मर्यादित रोजगारी तय गर्नुपर्ने बताए। ४ वर्षमा यी कुरा पुरा गरेर जनतासामु जानुपर्ने उनले बताए।
महामन्त्री थापाले पार्टीभित्र सरसल्लाह नगरी पार्टीको धारणा भनेर गठबन्धनको बैठकमा निर्णय गर्न नहुने पनि बताए। त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्ने उनले बताए।
