पोखरा- पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारी गरिएको छ। पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौँ दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गर्ने तयारी गरिएको आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराले जनाएको छ।
रेबान पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गर्ने कार्यक्रम रहेको छ। रेवान पोखराले विगत २५ वर्षदेखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२ः०० बजे पछि नयाँ अग्रेंजी वर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजी गर्न लागिएको हो।
यसअघि तिहारका बेला भने पटाका पड्काउन र आतीशबाजीमा स्थानीय प्रशासनले रोक लगाएको थियो।
पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारी भई रहँदा पोखरामा विगत लामो समयदेखि पर्यटन प्रवर्द्धन गर्न महोत्सव आयोजना हुँदै आएका छन्।
सडक महोत्सवमा वरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुली, बद्री पंगेनी, चर्चित गायिका समीक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहने बताइएको छ। रत्यौली गितप्रतियोगिता हुने जनाइएको छ।
