काठमाडौँ- ‘संविधान कार्यान्वयन र शान्ति प्रक्रिया टुङ्ग्याउन दलहरूबिच मेलमिलाप’ भन्ने नारासहित नेपाली काँग्रेसले मेलमिलाप दिवस मनाउने भएको छ।
काँग्रेसले आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा कार्यक्रम गर्ने भएको छ। कार्यक्रममा वक्ताका रूपमा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर रहेका छन्।
काँग्रेसले कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनमत पार्टी लगायतलाई भने आमन्त्रण गरेको छैन। २०३३ पुस १६ मा बिपी राष्ट्र र राष्ट्रियताका लागि राजासँगै मिलेर काम गर्छु भनेर नेपाल आएको दिनलाई नेपाली काँग्रेसले मेलमिलाप दिवसको रूपमा मनाउँदै आइरहेको छ।
२०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’पछि प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई करिब ३ महिना सिंहदरबारमा बन्दी बनाइएको थियो। त्यसै वर्ष फागुन २६ गते सुन्दरी जलमा जेल स्थानान्तरण गरिएको थियो।
२०२५ मा उपचारका लागि बिपीलाई रिहा गरियो। रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप पनि सुरु गरेका थिए।
दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै २०३३ साल पुस १६ गते स्वदेश फर्किएका काँग्रेस नेताहरूले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा राखेका थिए।


