काठमाडौं- नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगनकुमार थापाले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई कारबाही गर्नुपर्ने बताएका छन्। उनले ज्वालाकै लापरबाहीका कारण घटना घटेको बताउँदै उनी माथि कारबाही गर्नुपर्ने बताएका हुन्।
सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै थापाले आन्दोलनबारे थाहा हुँदाहुँदै पनि त्यहीबाटोबाट बाटोबाट सवारी गर्नु उनको लापरबाही भएको बताए। उनले यो घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताए।
‘पर्सनल सेक्युरिटिज अफिसरहरुले सूचना लिइसक्दा पनि राज्य नेतृत्वले होइन होइन भनेर ठिक छ भन्यो भने त्यो बेलामा उसले रोक्दैन। त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै यो जबरजस्ती हो। चरम लापरवाही हो, हेपेको हो,’ उनले भने, ‘सामान्य व्यक्तिले गर्ने लापरवाहीले त कतिथोक व्यहोर्नुपर्छ। त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठूलो दुर्घटना भयो। यो समितिले मन्त्रीको लपरबाही हेर्छ कि हेर्दैन?’
महामन्त्री थापाले माईतीघरको निषेधित क्षेत्र तत्काल खारेज गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह समेत गरे। उनले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको बताए।
