काठमाडौँ- ‘धोती दिवस’ मनाउनका लागि काठमाडौँको माइतीघरमा भेला भएको बेला पक्राउ परेकाहरूलाई छुटाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँ नेपाल पुलिस क्लब पुगेका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतलाई छुटाउनका लागि गृहमन्त्री पुलिस क्लब पुगेका थिए।
‘गृहमन्त्री श्रेष्ठले आफूहरुबाट भएको कमीकमजोरी स्वीकार्दै आफ्नै उपस्थितिमा सबै आन्दोलनकारीलाई रिहाइ गराउनु भयो,’ जनमत पार्टीका नेता बीपी साहले भने।
जनवरी १ को अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरु ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरमा भेला भएका थिए। निषेधित क्षेत्रमा भेला भएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।
प्रदर्शनमा सहभागीहरु प्रहरीको घेरा तोड्दै अघि बढेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
