काठमाडौं- उपराष्ट्रपति पदमा सत्ता गठबन्धनका तीन जनाको उम्मेदवारी दर्ता भएपछि एक जनालाई आधिकारिक उम्मेदवार बनाउने विषय टुंगो लगाउन बैठक बोलाइएको छ।
चैत ३ गते हुने निर्वाचनका लागि सत्ताधारी दल जनता समाजवादी पार्टीबाट दुई जना र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेपछि छलफलका लागि बैठक बोलाइएको हो।
जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी दर्ता भएको छ। गठबन्धनबाट नै जनमत पार्टीकी नेत्री ममता झाले पनि उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
यसअघि खस/आर्य समुदायबाट पुरुष व्यक्ति राष्ट्रपतिमा चयन भइसकेको भन्दै आयोगले महिलाको मात्र उम्मेदवारी दिन आग्रह गरेपछि जनता समाजवादी पार्टीले नै एक जना महिला र एक जना पुरुष उम्मेदवारको मनोनयन गरेको थियो। यस्तै सत्ता गठबन्धनमा नै रहेको जनमत पार्टीले पनि ममता झालाई उम्मेदवार बनाउँदै मनोनयन दर्ता गराएपछि गठबन्धनको आधिकारिक उम्मेदवार तय गर्न बैठक बोलाइएको छ।
सत्तारूढ गठबन्धनको बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ। बैठकमा उपराष्ट्रपतिको उम्मेदवार र समयसामयिक विषयमा छलफल गरिनेछ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनमा आबद्ध सबै दलका शीर्ष नेताहरू सहभागी हुनेछन्।
नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन्।


