काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरुसँग छलफल गरेका छन्।
भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल भ्रमण गर्न लागेको सन्दर्भवमा मन्त्री साउदले जानकारहरुसँग छलफल गरेका हुन्।
छलफलका क्रममा पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रसचिव र भारतका लागि पूर्वराजदूतहरुले नेपाल–भारत सम्बन्धका विभिन्न सुझाव दिएका थिए।
भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेकोमा जोड दिँदै उनीहरूले सुमधुर र पारस्परिक हितमा बढाउँदै लैजानु पर्ने सुझाव दिएको मन्त्री साउदको सचिवालयले जानकारी दिएको छ।
भारतसँग नेपालको व्यापार घाटा बढिरहेको भन्दै उनीहरूले भारतमा नेपाली सामग्री निर्यात वृद्धि गर्ने उपाय पहिल्याउनु पर्ने, विद्युत व्यापारलाई विस्तार गर्नु पर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नु पर्ने, विगतमा थालिएका विकास आयोजनाहरु समयमै सम्पन्न गर्न जोड दिनु पर्ने, हवाई रुट लगायतका विषय सम्बोधन गर्नु पर्ने आदि विषयमा सुझाव दिएका थिए।
मन्त्रालयमा सम्पन्न छलफलमा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापा, पूर्वपरराष्ट्रसचिवहरु मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्वराजदूत दुर्गेशमान सिंहलगायतको सहभागिता रहेको थियो।


