काठमाडौँ- कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली आफ्नै कार्यकक्षबाट पक्राउ परेको साता नबित्दै थुनामा पुगेका छन्। पुस ११ गते उनी पक्राउ परेका थिए।
पराजुली यसअघि सहकारी डिभिजन कार्यालय गण्डकीका प्रमुख थिए। त्यही बेला पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाले स्याङ्जामा शाखा विस्तारकाल लागि अनुमति माग गरेको थियो। उक्त अनुमति दिँदा १ करोड रुपैयाँ घुस लिएको आरोप लागेका पराजुली पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला अदालत कास्कीमा मंगलबार भएको थुनछेक बहसमा अदालतले पराजुलीसहित सहकारीका चार जनालाई थुनामा पठाउने आदेश दिएको अदालतका स्रेस्तेदार रूद्रप्रसाद अर्यालले जानकारी दिए।
मित्रमिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले पराजुलीलाई घुस दिएको बयान दिएका थिए। सोही बयानका अधारमा छानबिन गर्न प्रहरीले पराजुलीलाई हिरासतमा लिएको थियो। सहकारीका सञ्चालकहरू गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पनि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।
पोखरामा प्रधान कार्यालय रहेको मित्रमिलन सहकारीमा सर्वसाधारणले बचत राखेको २६ करोड रूपैयाँ अपचलन गरेको आरोप छ।
सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले ३३ जनाविरूद्ध मुद्दा दायर गरे पनि २७ जना फरार छन्।


