काठमाडौँ- भारतका विदेशमन्त्री एस जयशंकर भोलि काठमाडौं आउने भएका छन्। परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै जयशंकरको नेपाल भ्रमणबारे औपचारिक जानकारी दिएको हो।
बिहीबार र शुक्रबार नेपाल र भारतबीच सातौं संयुक्त आयोगको बैठक बस्दैछ। त्यसैको सिलसिलामा उनी काठमाडौं आउन लागेका हुन्।
आयोगले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धसँगै विभिन्न आपसी सहर्कायका क्षेत्रबारे चर्चा गर्नेछ। परराष्ट्र मन्त्री एनपी साउद र जयशंकरको उपस्थितिमा नेपाल भारत प्रशारण लाइनको सुरुवात हुने बताइएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा विद्युतबारे भएको सहमतिलाई कार्यान्वयन पनि आयोगको बैठकले गर्ने जनाइएको छ।
नेपाल बसाइका क्रममा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै शिष्टाचार भेट गर्नेछन्। जयशंकर शुक्रबार नै नयाँ दिल्ली फर्किनेछन्। परराष्ट्रमन्त्रीस्तरीय आयोग दुई मुलुकबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो।
प्रधानमन्त्रीको तहपछि नेपाल–भारतबीचको सबैभन्दा महत्त्वपूर्ण बैठकका रूपमा आयोगको बैठकलाई मानिन्छ। बैठकको तयारीका लागि परराष्ट्र मन्त्रालयको दक्षिण एसियाली महाशाखाले अन्य मन्त्रालयसँग सहकार्य गरेर काम गरिरहेको छ। साथै, काठमाडौंस्थित भारतीय दूतावास र नयाँदिल्लीस्थित नेपाली दूतावासले पनि भ्रमणका एजेन्डाबारे गृहकार्य गरिरहेका छन्।
परराष्ट्र स्रोतका अनुसार बैठकमा ऊर्जा, नेपालमा भारतीय लगानीमा भइरहेको पूर्वाधारको अवस्था, द्विपक्षीय अन्य सहयोग र समझदारीबारे छलफल तथा हस्ताक्षर गर्ने तयारी छ।
यस पटक नेपालबाट भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् लैजाने सहमतिका लागि गृहकार्य भइरहेको छ। प्रधानमन्त्री दाहालले गत जेठ १७ देखि २० गतेसम्म भारत भ्रमण गरेका थिए। भ्रमणका क्रममा जेठ १८ मा दाहालसँगको द्विपक्षीय भेटवार्तापछि हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा गरेका थिए। भारतको मन्त्रिपरिषद्ले मोदीको उक्त प्रस्तावलाई स्वीकृत गरेको थियो ।
आयोगको बैठक तीन वर्षपछि हुन लागेको हो। नेपालले बैठक गर्न भारतलाई आग्रह गर्दै आएको थियो। स्रोतका अनुसार भारतीय पक्षबाट आएको मितिमै यस पटक बैठक हुन लागेको हो। पछिल्लो पटक आयोगको छैटौं बैठक ०७७ को माघ १ र २ मा नयाँदिल्लीमा भएको थियो।
परराष्ट्र स्रोतका अनुसार यस पटक ऊर्जा सहकार्यबाहेक सीमा समस्याका विषयमा पनि छलफल हुनेछ। त्यस्तै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
त्यसअघिको पाँचौं संयुक्त बैठकमा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन र नेपाल–भारतबीचको सन् १९५० मा भएको सन्धिबारे छलफल भएको थियो। त्यस बेला आयोगको बैठक ०७५ भदौमा भएको थियो ।
आयोगको चौथो बैठक ०७३ कात्तिकमा नयाँदिल्लीमा, तेस्रो बैठक ०७१ असारमा काठमाडौंमा र दोस्रो बैठक ०४८ मंसिरमा नयाँदिल्लीमा बसेको थियो। परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको पहिलो बैठक सन् १९९१ को फेब्रुअरीमा बसेको थियो।
नेपाल–भारत द्विपक्षीय सम्बन्धका सम्पूर्ण विषयमा समीक्षा गर्न आयोगको गठन १९८७ मा भएको थियो।
