काठमाडौँ- राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिने विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आपत्ति जनाएका छन्।
एमालेलाई सिट दिने विषयमा नेपालले आपत्ति जनाएपछि राष्ट्रिय सभाका सिट बाँडफाँटको विषयमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको सुरुमा नै एमाललाई दिन सकिने सिट संख्याबारे प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्ताव गरेका थिए। तर नेपालले विरोध जनाएपछि बैठक विना निष्कर्ष टुंगिएको हो।
सहमति नजुटेपछि बेलुका फेरि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बस्ने एक नेताले बताए।
‘बैठकमा एमालेलाई पनि सिट बाँडफाँट गर्ने विषय गलत भएको भनेर माधव नेपाल कडा रुपमा प्रस्तुत हुनुभयो, साँझ फेरि एमालेसँग छलफल गर्ने भनेर बैठक स्थगित भयो,’ बैठकमा सहभागी एक नेताले भने।
बुधबारको बैठकमा नेकपा एमालेका अध्यक्ष ओलीले राष्ट्रिय सभामा केही सिटमा भाग खोजेका थिए। एमालेले प्रस्ताव ल्याएपछि त्यसमा छलफल गर्ने र सिट बाँडफाँटको टुंगो लगाउने भन्दै बैठक बिहीबार बिहानसम्मका लागि स्थगित भएको थियो।
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेलाई राष्ट्रियसभाको निर्वाचनमा सँगै लैजाने प्रधानमन्त्री र कांग्रेस सभापतिको ‘ग्रिन सिग्नल’प्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमा उनले दलहरु काण्डबाट बच्नका लागि एमालेको साथ खोजेको आरोप लगाएका छन्।
कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको आरोप उनले लगाएका छन्।
‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन्,’ उनले लेखेका छन्, ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ। अनि एमाले?’
