काठमाडौँ- सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले चार विषयमा तिखो टिप्पणी गरेका छन्। आकस्मिक समय, शून्य समय र विशेष समयमा बोलेका सांसद्हरुले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसग घुस डिल गरेको विषयलाई मुख्य बनाए।
यस्तै, नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको प्रपञ्च, विनोद चौधरीसमेतको लगानीमा ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका जग्गा भासिएको विषय पनि सांसदहरूले उठाएका थपिए। यस्तै सरकार र काठमाडौं महानगरपालिकाबीचको टकराव पनि सोमबारको प्रतिनिधि सभा बैठकमा बहसको तातो विषय बनेको थियो।
बैठक सुरु हुने बित्तिकै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सिंहदरबार र बागदरबारबीचको टकरावलाई उठाएका थिए। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाएपछि काठमाडौं-४ बाट निर्वाचित सांसद् थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेयर शाहसँग तत्काल वार्ता गर्न सुझाव दिएका थिए।
‘प्रधानमन्त्रीलाई आग्रह मेरो आग्रह छ, काठमाडौं महानगरपालिका प्रमुखसँग तत्काल वार्ता गरियोस्, जायज माग पूरा गरियोस्, यसमा काठमाडौंबाट निर्वाचित जनप्रतिनिधिलाई पनि सहभागी गराइयोस्,’ उनले भने।
सांसद थापाले संघीय सरकारले बनाउनुपर्ने कानुन नबनाउँदा र अन्तर तह समन्वय गर्नुपर्ने संयन्त्रहरुलाई सक्रिय नराख्दा स्थानीय तह र प्रदेशहरुले राम्रोसँग काम गर्न नसकेको बताए।

प्रतिनिधि सभामा गगन थापा।
मेयर शाहले संघीय सरकारप्रति असहमति प्रकट गर्दै सिंहदरबारभित्रको फोहोर नउठाउन निर्देशन दिएका छन्। शाहको निर्देशनपछि सिंहदरबारभित्रको फोहोर उठ्न सकेको छैन। ता थापाले भने देशका धेरै पालिकाका प्रमुख सिंहदरबार धाइरहेको देखिएकाकाले त्यो अवस्था अन्त्य गर्नुपर्ने पनि बताएका थिए।
‘अहिले सिंहदरबार गयौं भने पालिकाका प्रमुख हल्लिरहेको देखिन्छ। निजामती ऐन, स्वास्थ्य ऐनलगायतका गर्नुपर्ने काम हामीले गरेका छैनौं। संघको सरकारले प्रोएक्टिभ भूमिका खेल्नुपर्ने हो। संविधान र कानुनले भन्छ- तीन तहको सरकारको अन्तरसम्बन्ध बनाउनका लागि अन्तर प्रदेश परिषद्, राष्ट्रिय परिषद् लगायतका संयन्त्र सक्रिय हुनुहुपर्छ,’ उनले भने, ‘प्रदेश परिषद्को बैठक ०७६ साल देखि बैठक बस्न सकेको छैन। राष्ट्रिय परिषद्ले पूर्णता पनि पाएको छैन। काठमाडौं महनगरपालिकासँग देखिएको टकराव आजै टुंग्यायोस्। संघले बनाउनुपर्ने कानून संसद्मा ल्याइयोस् हामी काम गर्न तयार छौं। स्थानीय सरकार काठमाडौं आएर सिंहदरबार वरीपरी घुम्नुपर्ने अवस्थाको अन्त्य गरियोस्।’
श्रेष्ठको अडियो प्रकरणमा कसले के भने?
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग स्वास्थ्यमन्त्री बन्न साढे २ करोड मागेको अडियो प्रकरणबारे पनि संसद्मा मुख्य बहसको विषय बनेको थियो। बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले यो विषय सबैभन्दा पहिले उठाएका थिए। उनले अडियो प्रकरणले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागे।
‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण्ण रहनेछौं। यो घटनाले विचलित हुने छैनौं। राष्ट्रिय पार्टी यस्ता घटनाबाट टाढा रहनुपर्छ।’
सांसद् श्रेष्ठले स्वास्थ्यमन्त्री बन्न आफूले सभापति रवि लामिछाने निकटका व्यक्तिलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सहयोग गर्न व्यवसायी प्रसाईंसँग रकम मागेको अडियो आइतबार सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको प्रमुख सचेतक परियारले बताए।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियार।
नेमकिपाका सांसद् प्रेम सुवालले श्रेष्ठको अडियो सार्वजनिक भएपछि सिंहदरबारलाई भष्टाचारको अखडा बनाउन खोजिको भन्दै प्रश्न गरे। उनले पाँच पटक मन्त्री बनेका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनेर आफ्नो संस्मरणमा लेखेको सम्झना गर्दै अडियो प्रकरणले त्यसको पुष्टि गरेको बताए।
‘सत्ता गठबन्धनकै सांसद्ले स्वास्थ्यमन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजनिक भयो। मन्त्री पद भ्रष्टाचार गर्ने पद हो भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको छ,’ उनले भने, ‘सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन?’
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अडियो प्रकरणमा संसदीय छानबिन समिति बताएर काम गर्न माग गरे। ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ। यो भन्दा लज्जाबोध के हुनसक्छ?,’ गुरुङले भने।
सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताएका थिए। ‘त्यस्तो गफ सार्वजनिक भइसकेपछि मैले यहाँ दूधको साक्षी बिरालो बसेको पनि सुनेँ। त्यो वार्तामा भनिएको छ- कोर टिमलाई बुझाउनुपर्छ। त्यो कोर टिम भनेको को? त्यसको पनि छानबिन गर्नुपर्छ। संसदीय छानविन समिति बनाएर निष्पक्ष छानबिनको माग गर्दछु।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले पनि अडियो प्रकरणका विषयमा कुरा राखे। उनले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भनी टिप्पणी गरेका थिए। उनको व्यंग्यात्मक प्रश्न गरे, ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ। अरु मालदार मन्त्रीहरुको कति होला?’
भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने सांसद पोखरेलको भनाइ थियो। ‘एउटा त सार्वजनिक भयो। एउटा भ्रष्ट मानसिकताले समाज विक्षिप्त बनायो। जनतामा निराशा र चरम अविश्वास पैदा गरायो,’ उनले भने, ‘दल र तिनका नेताहरुप्रति सामाजिक रुपमै बहिष्करण हुनसक्ने अवस्थाको सिर्जना गरायो ।’
समिट होटल निर्माण गर्नेलाई कारबाहीको माग
ललितपुरको बुखण्डोलमा नक्सा पास नगरी समिट अपार्टमेन्ट निर्माण गर्दा जमिन भासिएको विषय पनि संसद्मा उठेको छ। सांसद्हरुले होटल निर्माण गर्नेलाई कारबाहीको माग गरेका छन्।
कांग्रेस सांसद् विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष, पूर्वमन्त्री तथा एनई समूहका अध्यक्ष रविभक्त श्रेष्ठ र समिट समूहको लगानीमा अपार्टमेन्ट होटल बन्न लागेको हो। होटल निर्माण गर्दा नक्सा पास समेत नगरिएको ललितपुर महानगरपालिकाले जनाएको छ।
होटल निर्माणस्थल वरपरको जमिन भासिएको छ। जसका कारण स्थानीय विस्थापित हुने अवस्थामा पुगेका छन्। राप्रपाकी सांसद रोशन कार्की समिट होटल निर्माण गर्दा वरपरको जमिन भासिएको विषयलाई उठाइन्। उनले मापदण्डविपरीत समिट होटल निर्माण गर्नेहरूमाथि कारबाही गर्न माग गरिन्।
‘गत शुक्रबार ललितपुरको कुपन्डोलमा केही घर भासिए। कुनै भुइँचालोले थिएन। गत वर्षको सरकारको निर्णयले त्यो भएको थियो‚’ उनले भनिन्, ‘अपार्टमेन्ट बनाउन नक्सासमेत पेस भएन। वातावरण प्रभाव मूल्यांकन नै भएन। यसबाट क-कसलाई फाइदा भयो? नेपालको कानुन तोड्न सरकार र मन्त्रीको मिलेमतोमा यो अवस्था आएको हो। त्यहाँ महानगरपालिकाले समिति बनाएको छ। त्यतिले मात्र हुँदैन।’
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले पनि उक्त भवन निर्माणमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनले यति ठूलो भवन बन्दा समेत महानगरले कुनै चासो नदिएको भन्दै आपत्ति जनाए। ‘जनताले एउटा टहरा बनाउँदा समेत खोज्ने महानगरले १६ तले भनवको बानाउँदा समेत के हेरेर बस्यो। आम नागरिकको उठीबास हुने अवस्था छ। यो घटनानको छानबिन होस्‚’ शाहले भने।

रास्वपा सांसद असीम शाह।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले पनि होटल निर्माणमा संलग्नलाई कारबाही गर्न माग गरे। ‘जनताले एउटा टहरा बनाउँदा समेत खोज्ने महानगरले १६ तले भवनको बानाउँदा समेत के हेरेर बस्यो। आम नागरिकको उठीबास हुने अवस्था छ। यो घटनाको छानबिन होस्‚’ शाहले भने ।
नेमकिपाका सांसद सुवालले पनि समिट होटल निर्माणको विषय उठाएका थिए। सत्ता गठबन्धनकै सांसदको लगानी भएको समिट अपार्टमेन्ट बनाउन उपकरण चलाउँदा सँधियारका घर भासिएकाले ज्यान जोगाउन रातारात अन्यत्र सार्नुपरेको उनको भनाइ थियो।
‘यो सांसद्को एक वर्षमा ४० अर्व नाफा भएको सार्वजनिक पनि भयो। तर सरकालाई कति राजस्व तिर्यो सार्वजनिक भएन। यसबारे पनि सत्ता गठबन्धनका दलले बोल्न जरुरी छ,’ उनले भनेका थिए।
‘नेपाली नागरिकलाई शरणार्थी बनाउनेमाथि कारबाही होस्’
सांसदहरुले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। उनीहरुले यो गिरोहमा ठूला नेताको नाम जोडिएकाले कारबाहीमा हुने आशंका समेत गरेका छन्। यो प्रकणमा एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा र उनका छोराको नाम जोडिएको छ। यस्तै एमालेका सचिव तथा सांसद् टोपबहादुर रायामाझी र उनका छोरा पनि संलग्न रहेको देखिएको छ।
यो प्रकरणमा संलग्नलाई कारबाही गर्न सांसदहरु धनराज गुरुङ, प्रेम सुवाल, धवलशमशेर राणा लगायतले माग गरेका छन्। कांग्रेस सांसद गुरुङले यो घटनामा गूला नेताको नाम जोडिएपनि कारबाही गर्न गृह प्रशासन काप्न नहुने बताए।

कांग्रेसका उपसभापति एवम् सांसद धनराज गुरुङ।
‘लज्जास्पद कुरा भएको छ कि नेपालीलाई भुटानी शरणार्थी बनाइदिने । नेपालीलाई भुटानी शरणार्थी बनाएर लाखौं, करोडौं रुपैयाँ असुलउपर गर्ने ? हजारौं जनतासँग रकम उठाइएको कुरा आएका छन् । यसमा ठूलै नेताहरूको पनि नाम जोडेर सञ्चारमाध्यममा आइपुग्या छ,’ गुरुङले भने, ‘ठूलोलाई चैन, सानोलाई ऐन हुन्छ कि ? नत्र होइन भने यस घटनामा जति ठूलै नेताको नाम जोडिए तापनि गृह प्रशासन काँप्न हुँदैन । गृह प्रशासनले दह्रोसँग खुट्टा टेकेर यसमा संलग्न जति ठूलो नेता भए पनि कारबाहीको दायरमा ल्याउनैपर्छ । कानुनको कठघरामा उभ्याउनैपर्छ ।’
नेमोकिपाका सांसद् सुवालले अख्तियार के गर्दैछ? भनेर प्रशन गरे। प्रजातन्त्र शासक दलका प्रतिनिधिलाई स्वार्थ समूहको कब्जामा राख्नका लागि नभएको उनको भनाइ थियो।
‘मन्त्री भइसकेकाका छोराहरूको संलग्नतामा ८७५ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर पठाउने भनी करोडौं रुपैयाँ ठगी गरियो । अख्तियार के गर्दैछ ?,’ उनको प्रश्न थियो । राप्रपाका सांसद् राणाले मुलुकमा काण्ड नै काण्ड घटिरहेको टिप्पणी गरे। ‘सरकारमा बसेका ठूला-ठूला मन्त्रीका छोराहरुले विभिन्न घटनाहरु घटाइरहेका छन्। सरकारले यिनीहरुलाई कठघरामा उभ्याउनुपर्छ,’ उनले भने।
र, अमृतपालको खोजी
नेकपा एमालेका सांसद् रघुजी पन्तले भारतीय सुरक्षा संयन्त्रले नेपाली सुरक्षा संयन्त्रलाई अविश्वास गरेको बताए। पञ्जाव विखण्डनको आन्दोलन गरेर गरेर फरार रहेका अमृतपाल सिंहको विषयलाई जोड्दै उनले यस्तो बताएका हुन्। सिंहलाई भारतीय प्रहरीले खोजिरहेको छ। सिंह नेपालमा आएको हुनसक्ने भन्दै काठमाडौंस्थित भारतीय दूतावासले अध्यागमन विभागलाई पत्र समेत लेखेको थियो। उक्त पत्रपछि अध्यागमन विभागले उनलाई आफ्नो सूचीमा समावेश गरेको थियो।
सांसद पन्तले भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेर सिंहलाई खोजिरहेको बताए। सिंह नेपाल प्रवेश गरेको आशंकासहितका समाचारहरू आइरहेको बताउँदै उनले नेपाल भित्र परेस खोजबिन गर्ने अधकार बाह्य देशका सुरक्षाकर्मीलाई नभएको बताए।
‘सबैभन्दा संवेदनशील हाम्रो सुरक्षा संयन्त्रले खोजतलास गर्दा नेपालमा छ भनेर पत्ता लाग्न सकेको छैन। तर वीरगन्ज नाका र बाँकेको जमुना नाका भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरू नेपाल प्रवेश गरेका छन्,’ उनले भने, ‘र उनीहरू अमृतपाल खोज्न आएका छन् भनेर समाचारहरू छापिएका छन्। कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कुनै पनि कानुनले नेपाल भित्र पसेर खोजविन गर्ने अधिकार दिएको छैन।’


