काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सरकारले भारतसँग राष्ट्र हित विपरीत सम्झौता गरेको आरोप लगाएका छन्। शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियतामा आँच आउने खालको सम्झौता गरेको आरोप लगाएका हुन्।
बिहीबार नेपाल-भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका ४ सम्झौतामध्ये उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा आश्चर्यजनक सम्झौता भएको भन्दै उनले आपत्ति जनाएका हुन्।
विज्ञप्तिमा नेता खनालले भनेका छन्, ‘सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपाल स्थित राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ। एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो। गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीहरूलाई स्तब्ध आश्चर्यचकित र क्रुद्ध बनाएको छ।’
खनालले थप भनेका छन्, ‘यो लापरबाहीपूर्ण र राष्ट्र हित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो। म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु।’
यो सम्झौतालाई तुरुन्त रद्द गरी नेपाली जनताका सामु माफी माग्न समेत उनले सरकारसँग माग गरेका छन्।



