काठमाडौं- ब्राजिलले अन्तरिम प्रशिक्षक फर्नान्डो डिनिजलाई जिम्मेवारीबाट मुक्त गरेको छ। ब्राजिल फुटबल फडरेसन (सीबीएफ)ले शुक्रबार डिनिजलाई जिम्मेवारीबाट मुक्त गरेको हो। डिनिज एक वर्षका लागि ब्राजिलको अन्तरिम प्रशिक्षक बनेका थिए। तर, विश्वकप छनौटमा खराब प्रदर्शन पछि सीबीएफले डिनिजलाई जिम्मेवारी मुक्त गरेको हो।
विश्वकप छनौटका ६ खेल मध्ये डिनिजको नेतृत्वमा ब्राजिलले तीन हार, एक बराबरी र दुई जित निकालेको थियो। डिनिजलाई जिम्मेवारीमुक्त गर्दै सीबीएफले भनेको छ, ‘सीबीएफ डिनिजको काम र समर्पणका लागि धन्यवाद व्यक्त गर्दछ। उनलाई शुभकामना !’
ब्राजिलले रियल मड्रिडका इटालियन प्रशिक्षक कार्लो एन्सोलोटीलाई प्रशिक्षक बनाउने तयारी गरेको थियो। तर, एन्सोलोटीले रियलसँगको सम्झौता नविकरण गरेपछि ब्राजिल दिर्घकालिन प्रशिक्षकको खोजिमा छ। ब्राजिलले साओ पाउलोका प्रशिक्षक डोरिभल जुनियरलाई प्रशिक्षक बनाउन सक्ने बताइएको छ।
