काठमाडौँ– नेकपा एमालेले राष्ट्रिय सभा चुनावका लागि १९ जना नै उम्मेदवारको टुंगो लगाएको छ। मंगलबार उम्मेदवारको मनोनयन गर्ने दिन भएकाले सोमबार सबै प्रदेशबाट १९ वटै सिटका लागि एमालेले उम्मेदवार चयन गरेको हो।
महासचिव शंकर पोखरेलका अनुसार कोशी प्रदेशमा महिलाबाट सुनसरीकी रुक्मिणी कोइराला, अन्यबाट भोजपुरका पर्शुराम अधिकारी छन्।
यस्तै मधेशमा महिलाबाट पर्साकी उषादेवी थरुनी, अन्यबाट महोत्तरीका डा. अर्जुनकुमार सिंह राजपुत उम्मेदवार बन्ने भएका छन्।
बागमतीमा महिलाबाट दोलखाकी रोचकुमारी चौलागाईं, अन्यबाट चितवनका त्रिलोचन निर्मल पौडेल, अपाङ्गता-अल्पसंख्यकबाट काठमाडौँका विवेक देवकोटा र दलितबाट धादिङका ध्रुवराज विश्वकर्मालाई एमालेले उम्मेदवार बनाउने भएको हो।
गण्डकीमा महिलाबाट सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता-अल्पसंख्यकबाट हेमन्द्र शेरचन (मुस्ताङ) तथा लुम्बिनीमा महिलाबाट तुलसाकुमारी केसी (दाङ) र अन्यबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री (पाल्पा)लाई उम्मेदवार बनाएको छ।
कर्णालीमा महिलातर्फ विमलाकुमारी शाही (हुम्ला), अन्यतर्फ डिल्लीप्रसाद भट्ट (मुगु), दलिततर्फ हिक्मत विक (दैलेख) र सुदूरपश्चिममा महिलातर्फ सावित्रादेवी घिमिरे (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र अपाङ्गता-अल्पसंख्यकबाट रामचन्द्र जोशी (कैलाली)लाई उम्मेदवार बनाएको छ।
यता साझा उम्मेदवारी दिने तयारीमा रहेको सत्ता गठबन्धनका सबै दलले उम्मेदवार टुंगो लगाउन बाँकी छ। माओवादी केन्द्रले ६ जना र जसपाले एक जना उम्मेदवार टुंगो लगाएका छन्।
कांग्रेस र नेकपा एसबीच कति सिट लिने भन्नेमा टुंगो लाग्न नसकेपछि विवाद भएको र त्यसले उम्मेदवार चयनमा ढिलाइ भएको दुवै दलको भनाइ छ।
कांग्रेसले १० सिट लिने र नेकपा एसलाई २ सिट दिने तयारी भएपनि नेकपा एसले ३ सिटमा दाबी गरेपछि अन्तिम निर्णय हुन बाँकी छ।
उता कांग्रेसमा संस्थापन र संस्थापन इतरबीच उम्मेदवार चयनका विषयमा तीव्र मतभेद छ। उक्त मतभेद निराकरणका लागि कांग्रेसका शीर्ष नेताहरू बैठकमा जुटेका छन्। संस्थापन इतरले कांग्रेसका १० मध्ये ४ सिट पाउनुपर्ने दाबी गर्दै आएको छ।


